काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष तथा तेमाल गाउँ शिक्षा समितिका संयोजक चन्द्रबहादुर लामाले तेमालको शैक्षिक सुधारका लागि सबै लाग्न अनुरोध गरेका छन् । विहिबार गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरुको नियमित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लामाले यस्तो अनुरोध गरेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लामाले विद्यालयमा शैक्षिक सुधारका लागि प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका रहने भएकोले दतचित्तका साथ काम गर्न निर्देशन दिए । शिक्षाकोबारेमा अभिभावक, शिक्षक गम्भिर नभएको पाइएकोमा दुःख समेत व्यक्त गर्दै शिक्षाकोबारेमा छलफल मात्र होइन, ठट्टा समेत नगरेको बताए ।

गुणस्तरीय शिक्षाको लागि गाउँपालिकाले योजना निर्माण गर्दै गरेको जानकारी दिंदै सल्लाह सुझाव पेश गर्न समेत प्रधानाध्यापकहरुालई निर्देशन दिए । ग्रामिण क्षेत्रको विद्यार्थीलाई हौसला दिने काम नभएकोले अब विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिनुपर्नेमा उनले जोड दिए ।

त्यसैगरी बैठकलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष दलमान थोकरले शैक्षिक समस्या पहिचान गर्न नसकेकोले शिक्षामा गरेको लगानी बालुवामा पानी हालेको जस्तै भइरहेको बताए । उनले तेमालको शैक्षिक सुधारको लागि गुरुयोजना बनाउन लागेको बताउँदै आधारभूत तहलाई राम्रो बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा सामाजिक विकास संयोजक एवं गाउँपालिकाको प्रवक्ता इन्द्रलाल तामाङले शैक्षिक सुधारको पहिलो हात प्राधानाध्यापकहरुको रहेको बताउँदै शैक्षिक क्यालेन्डर बनाउनेदेखि नीतिगत योजना निर्माणको लागि समेत प्रधानाध्यापकहरुलाई जिम्मा दिएको बताए ।

‘तेमालको शिक्षाको लागि गुरु योजना बनाउने क्रममा छांै । यसमा सहयोग गर्नुहोस् । कुनै पनि राजनीतिक दलको रवाफ र दबाबमा नपरी शैक्षिक सुधारको अभियानमा लागौं ।’ प्रवक्ता तामाङले भने ।

त्यस्तै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकालले यो वर्ष शिक्षा क्षेत्रमा तयारी वर्षको रुपमा गाउँपालिकाले लिएकोले शैक्षिक सुधारको लागि तयारीमा लाग्न प्रधानाध्यापकहरुलाई निर्देशन दिए ।

अध्यक्ष लामाका अध्यक्षतामा बसेको सो बैठकमा प्रधानाध्यापकहरु दमैसिं दोङ, टं्रक लामा, सुनिता तामाङ, ढुवाङ दोर्जे लामा, खड्गबहादुर लामा ध्रुबप्रसाद पाण्डे लगायतले विद्यालयको अवस्थाको बारेमा आ–आफ्नो कुरा राखेका थिए ।

बैठकमा हिन्दु नेपालीहरुको महान पर्व विजयदशमी र दिपावलीको अवसरमा शुभकामना आदानप्रदान समेत गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।