मिलन दाेङ तामाङ
मलेसियाका लागि नव नियुक्त राजदूत दिल्लीराज पौडेललाई मलेसियामा रहेका विभिन्न नेपाली संघसंस्थाले भव्य स्वागत गरेको छ । आइतबार पौडललाई नेपाली गैर आवासीय संघ मलेसिया, नेपाल आदिवासी जनजाति महासंघ मलेसिया र नेपाली व्यवसायी समाज मलेसियाको संयुक्त अयोजनामा एक कार्यक्रमका बीच स्वागत गरेको हो ।
लामो समय देखि रिक्त रहेको राजदूतको पदपूर्ति गरिएको छ । नेपालको संविधानको धारा (२८२) को उप–धारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपाली राजदूतावास मलेसियाका लागि पौडेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ गते राजदूतमा नियुक्ति गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने बताए । मलेसियामा विभिन्न पेशामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै नेपालीहरुको अधिकतम हित र सुरक्षाका कार्यक्रमलाई प्राथमिकता दिदै सुरक्षित गन्तव्य निर्माण गर्ने राजदूत पौडेलले बताए । साथै, उनले सन् २०१८ मा भएको श्रम सम्झौता नविकरण लाई पनि प्राथमिकता दिने बताए ।
एनआरएन मलेसियाका अध्यक्ष बिनोद थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदुतावास मलेसियाका पदाधिकारी, मलेसिया स्थित विभिन्न संघसंस्थाका पदाधिकारी, व्यवसायी, श्रमिक लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् मलेसियाका महासचिव रन्जित क्षेत्री र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका सचिव इश्वर राईले संचालन गरेका थिए।
Comments