काभ्रे जिल्लाको रोशीगाउँपालिका र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच छलफल तथा समिक्षा बैठक सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालयमा आज छलफल तथा समिक्षा वैठक सम्पन्नभएको हो ।

बैठकमा राष्ट्रिय स्तरका नीति तथा कार्यक्रम लागू गरे÷नगरेको विषयमा छलफल तथा गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रमको समिक्षा भएको स्वास्थ्य शाखाका अहेव दिलरत्न शाक्यले जानकारी दिए ।

छलफलका बीचमा रोशी गाउँपालिकाको उपाध्यक्ष मिमबहादुर वाईवा (ज्वाला) ले रोशीमा वार्षिक कार्यक्रमको साथसाथै नयाँ कार्यक्रम अन्तर्गत रोशी गाउँपालिकाले हाल पालिका भरिका ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले स्वास्थ्यको क्षेत्रमा सञ्चालन भइरहेको कार्यक्रमका समस्या तथा चुनौती अन्तर्गत स्वास्थ्यको क्षेत्रमा कर्मचारीको अभाव तथा समायोजनको विषयमा धारणा राखेका थिए ।

स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले वार्षिक कार्यक्रम अन्तर्गत रहेको सुत्केरी आमा पोषिलो खाना, सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत निःशुल्क एम्बुलेन्स सेवा, रोशीका सबै वडाहरुमा स्वास्थ्य संस्थाको व्यवस्था, आँखाशिविर कार्यक्रम, स्त्रीरोग तथा ज्येष्ठ नागरिक शिविर कार्यक्रम, विद्यालय नर्स कार्यक्रम लगायत अन्यकार्यक्रमको समीक्षाको साथै उपलब्धिको बारेमा प्रष्ट पारे ।

वैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर गुणनिधि शर्मा, तथ्यांक अधिकृत मनोज ताम्राकार, अधिकृत सृजना अधिकारी र यूसेडका पोषण सल्लाहकार राजन मन्डन बिच छलफल भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।