अञ्जली तामाङ
काभ्रे जिल्लाको रोशी गाउँपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रमले तिब्रता पाएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले आफू निर्वाचित भए पश्चात् गरिएको पहिलो प्रतिवद्धता अनुसार निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य विमा कार्यक्रम सञ्चालन भएको हो ।

हाल गाउँपालिकाको १२ वटै वडामा यो कार्यक्रम अगाडि बढिरहेको छ । यसको लागि प्रत्येक वडामा एक जना अभिकर्ता परिचालन गरिएको छ ।

६० वर्ष भन्दा माथिको निःशुल्क रुपमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्य विमा गर्ने अभियानमा लागेका अभिकर्ता चेत बहादुर लामाका अनुसार विशुद्ध रुपमा ज्येष्ठ नागरिकको मात्र नभई १ परिवारमा १ जना ज्येष्ठ नागरिकको विमा गर्दा सो परिवारको अन्य ४ जना सदस्यको पनि निःशुल्क रुपमा विमा हुने बताए ।

त्यसैगरी अर्को अभिकर्ता मुकुमाया लामाका अनुसार स्वास्थ्य विमा गर्दा स्वास्थ्य उपचारमा पर्ने आर्थिक भारलाई न्यूनिकरण गर्नका निमित्त यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ । जसमा आकस्मिक सेवा, बहिरङ्ग, अन्तरङ्ग, एच.आइ.भि., हेपटाइटिस, कुष्ठारोग, क्यान्सर लगायत स्वास्थ्य क्षेत्रमा पर्ने असर र त्यसको आर्थिक भार न्यूनिकरण गर्न स्वास्थ्य विमा कार्यक्रम अत्यन्त प्रभावकारी रहेको लामाले बताए ।

२०७८ सालको प्रारम्भिक नतिजा अनुसार गाउँपालिकाभित्र जम्मा घरधुरी संख्या ६०३९ रहेको छ । जम्मा जनसंख्या २३,५५१ जना रहेको छ भने लगभग ज्येष्ठ नागरिक ३,७०० जना रहेको छ । यसरी ३,७०० ज्येष्ठ नागरिक र १४,८०० जना परिवारको अन्य सदस्य गर्दा जम्मा १८,५०० जना रोशीवासीको स्वास्थ्य विमा निःशुल्क हुने भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।