वाम-लोकतान्त्रिक गठबन्धनका काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार सुर्यमान दोङ लालध्वजले आफू जनताको पहुँचभन्दा टाढा नरहने बताएका छन् ।

पनौती वडा नं. ६ मा आयोजित चुनावी सभामा बोल्दै लालध्वजले आफू जनताको घर आँगनभन्दा टाढा नरहने बताएका हुन् । उनले आफूमाथि सडकमा भएको मान्छे भन्दै आरोप लागेको बताउँदै भने, ‘पहुँचको हिसाबले म सदैव सडकमा हुन्छु, तपाईहरुसँगै हुन्छु ।’

लालध्वजले विकास निर्माणको कामका लागि आफूले फुर्सद छैन भनेर कहिल्यै नभन्ने समेत प्रतिबद्धता व्यक्त गरे । उनले थपे, ‘जहिले पनि म तपाईहरुको पहुँचमा हुन्छु, तपाईहरुको घर आँगनमा हुन्छु । विकास निर्माणका कामका सन्दर्भमा कुनै पनि फाइलहरु कुनै पनि मन्त्रालय वा ठाउँमा पुर्याउनका लागि लालध्वजले समय छैन भनेर भन्ने छैन ।’

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका उनले जहिले संकट हुन्छ त्यतिबेला कांग्रेस र माओवादी सँगै भएको इतिहास रहेको समेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रदेशसभा १(ख)का उम्मेदवार तीर्थ लामाले विकास निर्माणका कुनै पनि काममा बजेटको अभाव हुन नदिने बताए । उनले विकास निर्माणका सम्बन्धमा आफुहरुसँग अनुभव रहेको भन्दै अनुभव प्रयोग गरेर विकास निर्माणको काम अगाडि बढाउने बताएका हुन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।