नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य, वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री तथा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार रत्नप्रसाद ढकालले काभ्रेको महाभारत गाउँपालिकामा विकासको मूल फुटाउने काम शुरु भएको बताएका छन् ।
महाभारत गाउँपालिका वडा नं।२ स्याप्लेडाँडामा मतदाता भेटघाट तथा कोणसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् ।

०७४ सालको निर्वाचनमा आफू उम्मेदवार भएर आउँदा महाभारतमा विकासको मूल फुटाउने प्रतिबद्धता जाहेर गरे अनुसार आफूले महाभारत गाउँपालिका वडा नंं २ लाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए । ‘महाभारत गाउँपालिकाको कर्णाली भनेर चिनिने यो वडा नं।२ लाई पहिलो प्राथमिकतामा राखेर विकासको लागि बजेट विनियोजन गरेको छु ।
समग्र गाउँपालिकामा अर्बौंको बजेट मैले पठाएको छु ।’ मन्त्री ढकालले भने, ‘०७४ सालमा मैले यहीं वडाबाट महाभारतमा विकासको मूल फूटाउने उद्घोष गरेको थिएँ । त्यहीं अनुसार मेरो निर्वाचन क्षेत्रमा पनि महाभारतलाई पहिलो प्राथमिकतामा राखेर बजेट पठाएको छु ।’

आफू पहिलो आम निर्वाचनको उम्मेदवारको हैंसियतले प्रचारप्रसारमा आउँदा हिंडेर आएको स्मरण गर्दै ढकालले यो पटक आउँदा गाडी चढेर आउने प्रतिबद्धता जाहेर गरे अनुसार आफू यो पटकको निर्वाचन प्रचार प्रसारमा गाडी चढेर आएको बताए । ‘पहिलो आम निर्वाचनमा म उम्मेदवार भएर आउदा हिंडेर आएको थिएँ । त्यतिखेर मैले सडक निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेको थिएँ ।
सोही अनुसार विपि राजमार्ग हुँदै साँझकोट, ताराखसे लेक हुँदै टोकदमरसम्मको सडक निर्माण गर्ने प्रतिबद्धता गरेको थिएँ ।’ उनले भने, ‘अर्को पटक आउँदा गाडी लिएर आउँछु भनेको थिएँ । आज म गाडी चढेर चुनाव प्रचार प्रसारमा आएको छु ।’

कोणसभालाई सम्बोधन गर्दै नेता ढकालले एमालेसँगको एकताले जनताको जीवनस्तर बदल्नुको सट्टा भ्रष्टाचारले सिमा नागेको र यो संविधान र व्यवस्था माथि प्रहार भएकोले अहिले लोकतान्त्रिक–वाम गठबन्धन गर्नुपरेको बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।