१६ वर्षको उमेरमा जनयुद्धमा होमिएकी महिला लडाकु कुमारी मोक्तानले चौथो पटक संसदको यात्रा तय गरेकी छिन् ।
बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बेनेकी नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य मोक्तान प्रदेससभा मकवानपुर २(क) मा नेकपा एमालेका विष्णु प्रसाद ढकाललाई तीनसय २२ मतले हराउँदै विजयी भएकी हुन् ।
उनले १९ हजार ८ सय ७३ र ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका थिए । जितपछि प्रतिक्रिया दिँदै मोक्तानले यो जित आफ्नो नभई मकवानपुर प्रदेशसभा २(क) का सबै नागरिकको जित भएको बताइन् । ‘मेरो पाँच वर्ष यसै क्षेत्रको विकास र समृद्धिमा खर्च गर्नेछु’, मोक्तानले भनिन्, ‘जनतासँग गरेको बाचा पुरा गर्नेछु ।’
तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरे लगत्तै उनी विद्यालय शिक्षा छाडेर युद्धमा होमिएकी थिईन् । उनी मकवानपुरकी जुझारु महिला नेतृ हुन् । २०३६ सालमा जन्मिएकी मोक्तानले २०५० सालमा विद्यार्थीबाट राजनैतिक यात्रा सुरु गरेकी थिइन् । त्यसको केहि समयपछि अखिल नेपाल महिला संघ (क्रान्तिकारी) मा संगठित भईन् । २०५६ सालमा तत्कालिन शाही नेपाली सेनाबाट पक्राउ परेकी मोक्तान २०५८ मा रिहा भईन् । उनी २०५९ मा मकवानपुर जिल्ला पार्टी सचिव बनिन् ।
२०६० मा पार्टीको क्षेत्रीय ब्युरो सचिव हुँदै २०६१ मा तामाङ मोर्चाको केन्द्रीय उपाध्यक्ष र मकवानपुरको पार्टीको तत्कालिन जनसरकार प्रमुख बनिन् । शान्ति सम्झौतापछि उनी २०६३ सालमा विधायीका सदस्य मनोनित भइन् । मोक्तान २०६४ सालमा तत्कालिन मकवानपुर ४ नम्बर निर्वाचन क्षेत्रबाट संविधानसभा सदस्य निर्वाचित भइन् ।
२०७४ को प्रदेशसभा निर्वाचनमा उनी यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइन् । उनी २०७८ मा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनिन् ।
आमाको प्रेरणाबाट मोक्तानले पनि राजनीतिक यात्रा तय गरेकी थिइन् । निरन्तर निर्वाचनमा विजयी हुने माओवादीभित्रका उनी सफल महिला नेतृ हुन् ।
Comments