गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट विजयी भएका प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का सांसद सूर्यमान दोङ (लालध्वज)ले यो साता २ महत्वपूर्ण कार्यालयमा पुगेर चासो लिएका छन् । शपथग्रहण अघि नै भक्तपुरमा रहेको सडक डिभिजन कार्यालय र धुलिखेलमा रहेको कृषि सामाग्री केन्द्रको मल गोदममा पुगेर सांसद दोङले चासो लिएका हुन् ।
भक्तपुर स्थित सडक डिभिजन कार्यालयमा पुगेर दोङले सडकको सुधारमा भैरहेको कामका बारे जानकारी लिएका थिए । आफ्नो निर्वाचन क्षेत्रभित्र सडक डिभिजन कार्यालयले हेर्ने सडक निर्माण, स्तरोउन्नती र सडक विस्तारको कामकाबारे जानकारी लिँदै सांसद दोङले काममा ढिलाई नगर्न र १२ बाह्र महिना सडक सञ्चालन हुने गरी काम गर्न निर्देशन दिएका छन् ।
त्यस्तै निर्वाचनको बेला समेत सबैभन्दा बढी मतदाताले माग गरेको मलका विषयमा समेत सांसद दोङले चासो राखेका छन् । धुलिखेल स्थित कृषि सामाग्री कम्पनी लिमिटेडमा पुगेर मल आपूर्तिको जानकारी लिएका थिए । सांसद दोङले गोदाममा मल नराख्न आग्रह गर्दै आवश्कता परेका पालिकामा जतिसक्दो छिटो मल वितरण गर्न शाखा प्रबन्धकलाई निर्देशन दिएका छन् । उनले कोटा प्रणालीमा नभई किसानको आवश्यकता र माग अनुसार मल वितरण गर्न समेत उनले निर्देशन दिए ।
विजयी हुन साथ सांसद दोङले मल वितरण र सडक निर्माण गर्ने जिम्मेवारी पाएका दुई कार्यालयमा पुगेर मतदातासँग गरेको बाचालाई प्रारम्भ गरेको सन्देश दिएका छन् । सुरुवाती चरणमा अहिले सांसद दोङले लिएको चासोलाई जनताले सकारात्मक रुपमा लिन थालेका छन् । व्यवस्थित सडक निर्माण हुनेमा स्थानीय विश्वस्ता हुन थालेका छन् भने मल चाँडै पाउनेमा किसानहरु आशावादी भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।