नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद सुर्यमान दोङ (लालध्वज) ले माओवादी जनयुद्धका कारण महिला अधिकार सनिश्चित भएको दावी गरेका छन् । आज धुलिखेलमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक आयोजना गरेको लैंगिक हिंसा विरद्धको सचेतना मुलक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लालध्वजले उक्त दावी गरेका हुन् ।

माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोल र त्यसपछि संविधानमा महिला अधिकार उल्लेख गरेकै कारण महिला शसक्तिकरण बढेको उनको भनाई थियो ।

‘अहिले कानुनमै ब्यवस्था गरेर महिलालाई राज्यको मुल प्रवाहमा ल्याउने काम भएको छ । त्यसमा माओवादीको सबैभन्दा ठूलो हात छ ।’ उनले भने, ‘काभ्रे जिल्लाकै कुरा गर्ने हो भने पनि गठबन्धन हुँदा पनि पालिकाको अध्यक्ष उम्मेदवार बनाएर जिताउने माओवादी नै हो । अरुले उम्मेदवार उठाउनै चाहेनन् । १० वर्षे जनयुद्धपछि भएका परिवर्तनका कारण महिलाहरुको हक अधिकार सुनिश्चित भएको छ ।’

लैगिंक हिंसा रहित समाज निर्माणमा आफुहरु पहिलेदेखि नै लागिपरेको भन्दै सांसद दोङले यसमा सबै पक्षको भुमिका अपरिहार्य रहेको बताए । लैंगिक हिंसा विरुद्धको अभियानमा आफू र आफ्नो पार्टी सधैं लागिरहने उनले प्रतिबद्धता जाहेर गरे ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला