नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाले महिला सुरक्षित हुन पुँजीवाद हार्नुपर्ने बताएका छन् । शुक्रबार धुलिखेलमा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक आयोजना गरेको लैगिंक हिँसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले सबैप्रकारको हिंसा राजनीति, सँस्कृति र उत्पादनसँग जोडिएको बताए । ‘हिंसा राजनीतिकसँग छोडिएको छ, हिंसा संस्कृतिसँग पनि जोडिएको छ । हिंसा उत्पादन सम्बन्धसँग पनि छोडिएको छ ।’ उनले भने, ‘त्यसैले पुँजीवाद र समाजवादको लडाई जारी छ । यो लडाईमा पुँजीवाद हार्नुपर्छ । अनिमात्र महिलाहरु सुरक्षित हुन्छन् ।’

बाँस्कोटाले हिँसा महिला र पुरुष कसैमाथि पनि स्वीकार्न नसकिने बताउँदै आफू मानव अधिकारलाई पालना गर्न प्रतिबद्ध रहेको बताए ।

आधुनिक पुँजीवाद र नव उदारवादले महिलाहरुलाई उपभोक्ता बजारको पुतली बनाएको उनले बताए । ‘आधुनिक पुँजीवाद र नव उदारवादले महिलाहरुलाई उपभोक्ता बजारको पुतली बनाएको छ । त्यस कारण हिंसा बढेको छ । त्यो कुरा बिर्सन हुँदैन । बजारको बस्तु जब बन्छ । तब हिंसा हुनसक्छ ।’ उनले भने, ‘हाम्रो देश सामन्ती युगबाट आएको हो । कुनै समय मातृ सत्ता थियो । त्यो खोसिएपछि महिला हिंसा सुरुभयो ।’

Comments

comments