जनताको आधारभूत आवश्यकता पूरा गर्न २०७२ सालमा स्थापना भएको उज्यालो नेपालको ७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा शुक्रबार धुलिखेलको मिरावेल होटलमा सम्पन्न भएको थियो ।

साधारणसभाको नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका थिए ।

संस्थाले विशेष गरि काभ्रे, दोलखा, रामेछाप र काठमाण्डौलाई कार्यक्षेत्र बनाएर शिक्षा, स्वास्थ्य, खानेपानी, सामुदायिक भवन, कृषि तथा स्वास्थ्य शिविर, आपतकालिन सहयोग लगाएत विभिन्न सामुदायिक विकासका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
काभ्रेको पाँचखाल, बेथानचोक, मण्डनदेउपुर, भुम्लु, चौरीदेउराली, खानीखोला, दोलाखाको शैलुङ गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र दोरम्वा गाउँपालिका तथा काडमाडौंको किर्तिपुर नगरपालिकामा काम गर्दै आईरहेको संस्थाका उपाध्यक्ष संजय तामाङले जानकारी दिए ।

उज्यालो नेपालले शिक्षाको क्षेत्रमा कक्षाकोठा सहयोग, दिवा खाजा सहयोग, शैक्षिक सामाग्री वितरण, शिक्षक तलब सहयोग, ज्याकेट, अडियो भिडियो शिक्षाका लागि ल्यपटप, प्रिन्टर, प्रोजेक्टर र टिभि, स्कूल ब्याग वितरण, वालविकासका वाल शिक्षकहरुका लागि क्षमता विकास तालिम, खानेपानीको क्षेत्रमा खोकबेशी, धन लक्ष्मी, तिनपिप्ले, भंगेरी, दुलालथोक, खामपुर, पाडुला, भमरकोट, जोरपिपल लगायत २१ वटा आयोजना सम्पन्न भइसकेका छन् ।

स्वास्थ्य क्षेत्रमा पाँचखाल नगरलाई एम्वुलेन्स सहयोग, पाँचखाल पि एच सि. मा ईन्सिनेरेटर निर्माण, औषधी सहयोग, स्वयंसेविकाहरुलाई ज्याकेट र विपि सेट, गुल्को मिटर सहयोग भएको उपाध्यक्ष तामाङले जानकारी दिए । संस्थाल सामुदायिक र महिला भवन समेत निार्मण गरेको संस्थाका परियोजना संयोजक सुनिता योञ्जनले जानकारी दिईन । उनका अनुसार संस्थाले स्वास्थ्यचौकी बेथान १, होक्से खोपकेन्द्र भवन, अनेकोट महिला भवन, चुल्ठेडाडा महिला भवन लगायत १० वटा भवन निर्माण भएको छ ।

त्यस्तै कृषि क्षेत्रमा महिलाको क्षमता विकास तालिम तथा कृषिको लागि वडा ८ का १९ कृषक समुहहरुलाई ७.५ हर्ष पावरको ट्रयाक्टर वितरण भएको छ । संस्थाले करिब ६० लाख बराबरको कोभिड सामाग्री विभिन्न पालिकाहरुलाई वितरण गरेको छ भने विभिन्न विपत्तिहरुमा सहयोग समेत गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले केहिदिनमानै मेलम्चीको खानेपानी काठमाण्डौबासीले खान पाउने जानकारी गराएका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीका प्रशासनीक सल्लाहकार जनार्दन नेपाल, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, पाँचखाल नगरपालिकाका निवर्तमान उपप्रमुख लक्ष्मी दनुवार लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जनले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।