अञ्जली तामाङ
काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिका दिगो विकासको यात्रामा लम्किएको बताएका छन् । बेथानचोक–१ च्याम्राङबेंसीमा रहेको चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यो आर्थिक वर्षमा गाउँपालिकामा ५ किमी पक्की सडक बिस्तार हुने बताउँदै अधिकारीले पालिकामा शिक्षा, स्वास्थ्यका साथै कृषि र पर्यटनका क्षेत्रमा पनि गाउँपालिकाले विकासका नयाँ आयामहरु थप्दै लगेको दावी गरे ।

उनले सहकारी नागरिकहरूको स्वतन्त्र गतिविधि भएको र निजी क्षेत्र र कतिपय अवस्थामा राज्यले गर्न नसक्ने कुरालाई सहकारीको माध्यमले नागरिहहरूले सजिलै सम्पन्न गर्ने भएकोले चक्रेश्वर साकोसले पनि च्याम्राङबेंसीको विकासमा नागरिक सहभागिता, छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गरी समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरे ।

‘चक्रेश्वर साकोस ग्रामिण भेगमा सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक साझा सङ्गठन बनेको छ । समग्रमा साकोसले समान इच्छा, आकांक्षा भएका व्यक्तिहरूमा आपसी सहयोग तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध गराउने छ ।’ उनले भने, ‘सहकारी अन्तर निर्भरता हुँदै आत्मनिर्भरता तर्फको यात्रामा लाग्ने हुँदा सञ्चालकले यसलाई अभियान बनाउन अनुरोध गर्दछु ।’

कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी सस्था लि का कार्यकारी अधिकृत केशव दाहाल, बेथानचोक गाउँपालिका वडा नं. १ अध्यक्ष एवं गाउँपालिका प्रवक्ता मधुसुधन तिमल्सिना लगायतले चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं वार्षिकोत्सवमा शुभकामना मन्तव्य राख्दै संस्थाले ग्रामिण भेगमा पु¥याएको योगदानको प्रशंसा गरे ।

संस्थाका अध्यक्ष उद्धव प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोपाल दाहालले स्वागत मन्तव्य राखेका थिए भने सचिवको प्रतिवेदन सन्तोष घिमिरे र कोषाध्यक्षको प्रतिवेदन मखमलीमाया गोलेले राख्नु भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।