काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ४ मा मंगलबार साँझ भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा सबैको सनाखत भएको छ । प्रहरीले सनाखत गरी ९ वटा शव मृतकका आफन्तलाई बुझाएको छ भने एकै परिवारका ८ जनाको शव आफन्त नहुँदा धुलिखेल अस्पतालमै छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार मृतक १७ जनाकै पोस्टमार्टम भैसकेको र तीमध्ये नौजनाको शव परिवारले बुझेर धार्मिक रीतिरिवाज अनुसार दाहसंस्कारका लागि लगेका छन्।

बाँकी ८ वटा शव बुझ्ने आफन्त नहुँदा धुलिखेल अस्पतालमै रहेको न्यौपानेले बताएका छन् । उनीहरूको परिवारमा दुईजना घाइते अवस्थामा रहेका छन् भने एकजना विदेशमा रहेका छन् । ‘आठवटा शव परिवारले बुझ्न बाँकी छ, अन्य नौ शवहरूलाई परिवारको जिम्मा लगाएका छौँ।’प्रहरी उपरीक्षक न्यौपानेले भने, ‘सानो नानी र परिवारको कान्छो छोराको उपचार भइरहेको छ । एकजना जापानमा छन् भन्ने सुनेको छु, भोलि बेलुकीसम्ममा आएर शव बुझ्ने कुरा छ।’

एकै परिवारका आठ शव

उक्त बस दुर्घटनामा परी एकै परिवारका ८ जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका वडा नं. ११ का ७९ वर्षीय निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीय हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीय मञ्जु तामाङ, २७ वर्षीय कोपिला तामाङ र ११ वर्षीय पुष्कर तामाङ छन् । उनीहरू सबै एकै परिवारका हुन् ।

मृतक कुमार तामाङका छोरा राजन तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने मृतक बुद्ध तामाङ र कोपिला तामाङकी आठ वर्षीय छोरी श्रेया तामाङको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारीसमेत रहेका न्यौपानेले दिएको जानकारीअनुसार २२ जना घाइतेमध्ये २ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने बनेपास्थित शिर मेमोरियल अस्पतालमा आठजना, धुलिखेल अस्पतालमा नौजना र बाँकी तीनजना काठमाडौंको बिएनबी र भक्तपुरमा उपचाररत छन् ।

को–को हुन् दुर्घट्नामा मृत्यु भएकाहरु

१) ललितपुर जिल्ला महांकाल गाउँपालिका ६ बस्ने वर्ष २२ को तेजप्रसाद तिमल्सिना (चालक)
२) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष २७ की कोपिला तामाङ
३) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ५५ का कुमार तामाङ
४) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ११ का पुष्कर तामाङ
५) काभ्रे जिल्ला बेथानचोक गा.पा. ४ बस्ने वर्ष १९ का रविन तामाङ
६) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ७९ की निर्मला तामाङ
७) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष २८ की मन्जु तामाङ
८) काभ्रे जिल्ला तेमाल ८ बस्ने वर्ष २९ की टीकालक्ष्मी तामाङ
९) काभ्रे जिल्ला तेमाल ८ बस्ने वर्ष ९ का गुरुलक्ष्मणदास तामाङ
१०) मकवानपुुर जिल्ला इन्द्रसरोवर १ बस्ने वर्ष ६ की समीक्षा थिङ
११) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ४३ की हेमा तामाङ
१२) काभ्रे जिल्ला मण्डनदेउपुर १ बस्ने वर्ष ४१ की चेलिमाया तामाङ
१३) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ५० को आकुर तामाङ
१४) काभ्रे जिल्ला बनेपा १४ बस्ने वर्ष ४२ को रामकुमार तामाङ
१५) काभ्रे जिल्ला बनेपा ११ बस्ने वर्ष ३० को बुद्ध तामाङ
१६) काभ्रे जिल्ला बनेपा १४ बस्ने वर्ष २८ की गीता श्रेष्ठ
१७) काभ्रे जिल्ला बेथानचोक ५ बस्ने वर्ष २४ की मञ्जु तामाङ

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।