प्रधानमन्त्री शेरबहादुर देउवा आज काभ्रे आउने भएको छ । काठमाडौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोह (प्रथम चरण)को उद्घाट गर्न प्रधानमन्त्री देउवा काभ्रे आउने भएको हो ।

काठमाडौँ विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने दिक्षान्त समारोहको आयोजना भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउबाको अध्यक्षता, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेल समेत उपस्थिति हुने छन् । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाज्यूले स्वागत गर्ने छ ।

दिक्षान्त समारोहमा विभिन्न विधाका ८ जना पीएचडी, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ६ जना सहित जम्मा १ हजार ६ सय ९६ जना विद्यार्थी दीक्षित हुने काठमाडौं विश्वविद्यालयले जनाएको छ।

तीमध्ये आर्ट्सका २२० जना, एजुकेसनका २०२ जना, इन्जिनियरिङका २६ जना, लका ४० जना, म्यानेजमेन्टका ४६२ जना, मेडिकल साइन्सेजका ७०९ जना र साइन्सका ३७ जना विद्यार्थी रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको प्रतिशत ४३.२० (७३४ जना) र महिलाको प्रतिशत ५६.८० (९६५ जना) रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू १०.९५ प्रतिशत रहेका छन् ।

तीमध्ये अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स, पोर्चुगल, रुस, सिङ्गापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १८६ जना रहेका छन् । अठ्ठाइसौँ दीक्षान्त समारोहसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट ४० हजार ३८ जना उत्तीर्ण भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।