काभ्रे जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले निर्वाचनमा होमिदै गर्दा गरेको धेरै वटा प्रतिबद्धताहरु मध्य एक थियाे ‘उज्यालो महाभारत’ । नेपाल विद्युति प्राधिकरणको केन्द्रिय प्रसारण लाइनबाट धेरै टाढा महाभारत गाउँपालिकालाई ‘उज्यालो महाभारत’ बनाउँछु भन्ने उनको प्रतिबद्धतालाई कतिपायले पत्याएका थिएनन् ।

तर उनको सचेतपूर्ण पहलले अब ‘उज्यालो महाभारत’को कार्य अन्तिम चरणमा पुगेको छ । महाभारत गाउँपालिकाको करिब ३३ सय घरधुरी अब विजुली बत्तिको उज्यालोमा बस्न पाउने भएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई समेत अध्यक्ष जिम्बाले पहलको लागि अनुरोध गरेपछि २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचन अघिसम्म नेपाल विद्युत्त प्राधिकरणको केन्द्रीय प्रसारण लाईनको सम्पर्कमा नरहेका महाभारत र खानिखोला गाउँपालिका अब प्रसारण लाइन जोड्ने कामले तिब्रता पाएको छ ।

महाभारत र खानिखोलामा नेपाल विद्युत प्राधिकरणको केन्द्रिय प्रसारण लाईनको बिस्तारको लागि नेपाल सरकारले १ अर्ब ५६ करोड रकम विनियोजन भएको थियो ।

मिटर बक्स वितरण र ‘फिटिङ’ कार्य तिब्र गतिमा

खानीखोला गाउँपालिकामा भन्दा महाभारत गाउँपालिकामा विद्युतको काम तिब्र गतिमा भइरहेको छ । अध्यक्ष जिम्बाले आफ्नो प्रतिबद्धता अनुसार अगाडि बढेपछि महाभारत गाउँपालिकामा विद्युतको कामले तिब्रता पाएको हो । महाभारत गाउँपालिकामा प्रसारण लाइन विस्तार कार्य सम्पन्न भएपछि मिटर बक्स वितरण र फिटिङ गर्ने कार्यले तिब्रता पाएको छ ।

यस अघि वडा नं. ३ र ४ मा मिटर बक्स वितरण गरेर फिटिङको कार्य तिब्र गतिमा भइरहेको अवस्थामा शुक्रबार वडा नं. ५ मा मिटिर वक्स वितरण गर्न अध्यक्ष जिम्बा आफै पुगेका छन् । विद्युत प्राधिकरणका इन्जीनियर सुरोज पराजुलीलाई समेत साथमा लगेर उनले मिटर वक्स वितरण गरेका हुन् । शुक्रबार मात्रै अध्यक्ष जिम्बाले ३ सय ५५ थान मिटर वक्स वितरण गरेका छन् ।

वडा नं. ३ र ४ मा ५ सय ९७ थान वितरण गरिसकेका छन् । ‘अब सबै घर–घरमा मिटर वक्स राख्ने कार्य सम्पन्न भएपछि विजुली बत्ति बल्ने छ ।’ अध्यक्ष जिम्बाले भने, ‘उज्यालो महाभारत’को यात्रा वडा नं. ३, ४ र ५ बाट शुरु हुनेछ ।’

गाउँपालिकाबाट १ हजार अनुदान

गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदान उपलब्ध गराएको छ । त्यति मात्र होइन स्थानीयबासीको घर–घरमै मिटर पुर्‍याएको छ । कूल २६८५ रुपैयाँ पर्ने मिटर गाउँपालिकाले १ हजार अनुदान दिएपछि १६ सय ८५ रुपैयाँमै पाएका छन् । ‘हामीले जनताको समस्यालाई मध्य नजर गर्दै मिटरमा १ हजार अनुदान दिने निर्णय गर्‍याै । यहाँदेखि बनेपासम्म गएर मिटर ल्याउन जनतालाई सास्ती मात्र होइन, खर्चसमेत धेरै लाग्ने भएकोले हाम्रै पहलमा घर–घरमा मिटर वितरण गर्ने पहल गरें ।’ उनले भने, ‘मैले जनतासँग जे प्रतिबद्धता जाहेर गरेको थिएँ, त्यो प्रतिबद्धता बेलैमा पूरा गर्नुपर्छ भनेर म आफै लागेको छु ।’

गाउँपालिका अध्यक्ष जिम्बा अनुसार १ हजार ३ सय घरधुरीका लागि मिटर पुगिसकेको र अहिले घरमा वायरिङ्गको कार्य भईरहेको छ ।

स्थानीय खुशी

‘उज्यालो महाभारत’को सपना पूरा हुने भएपछि स्थानीय जनता खुशी भएका छन् । लघु जलविद्युत, सोलार तथा अन्य बैकल्पिक उपायको भरमा रातलाई उज्यालो बनाउन बाध्य स्थानीयले केन्द्रिय प्रसारण लाइनबाट विजुली बाल्न पाउने भएपछि खुशी भएका हुन् । ‘हाम्रो गाउँमा कहिल्यै पनि विजुली बत्ति आउँदैन होला जस्तो लाग्थ्यो, तर हाम्रो कान्छालाल अध्यक्षले बोलेको कुरा पूरा हुँदैछ ।’ वडा नं. ५ निवासी दोर्जे तामाङ खुशी हुँदै भने, ‘अब त गाउँ नै उज्यालो हुने भयो । मोवाइल चार्ज गर्न नपाएर छोराछोरीसँग फोनमा बोल्न पाउँदैन थियो । अब त ढुक्का हुने बेला आयो ।’

त्यस क्षेत्रमा लघुजलविद्युत्त आयोजना संचालन भए पनि दिगो रुपमा संचालन हुन सकेका थिएनन् ।

मिटर वितरण कार्यक्रममा नेपाल बिद्युत प्राधिकरण, काभ्रेको इन्जिनियर सुरोज पराजुली, वडा अध्यक्ष विजय राना मगर, पूर्व वडा अध्यक्ष रविन मोक्तान, माओवादी केन्द्रका वडा अध्यक्ष सगुन तामाङ लगायतका सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।