काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा परी मृत्यु भएका एकै परिवारका आठ सदस्यको सामूहिक दाहसंस्कार गरिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार मंगलबार भएको दुघर्टनामा परी ज्यान गुमाएका एकै परिवारका आठजनाको शुक्रबार सामूहिक दाहसंस्कार गरिएको हो ।
मृतक कुमार तामाङका साहिँला छोरा जयराम तामाङ मलेसिया र कान्छा छोरा अमर तामाङ जापानबाट फर्केर शव बुझेपछि उनीहरूको सामूहिक दाहसंस्कार भएको हो ।
बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए । १७ जनाको मृत्यु भएकोमा नौजनाको शव बिहीबार परिवारले बुझेर दाहसंस्कार गरिसकेका छन् । बाँकी आठजना शव बुझ्ने परिवारका सदस्यसमेत घरमा नभएकोले धुलिखेल अस्पतालमै थिए ।
दुर्घटनामा ज्यान गुमाएका बनेपा नगरपालिका– ११ सल्लेकी ७९ वर्षीया निर्मला तामाङ, ५५ वर्षीया कुमार तामाङ, ५० वर्षीया आकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, ३० वर्षीया बुद्ध तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २७ वर्षीया कोपिला तामाङ र ११ वर्षीया पुष्कर तामाङ सबै एकै परिवारका सदस्य हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















