नेपाली काँग्रेस काभ्रेले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभामा पार्टीलाई अन्तर्घात गर्नेलाई साधारण सदस्य समेत नहने गरि कार्वाहीको सिफारिस गरेको छ । निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउनका लागि भूमिका खेलेको आरोपमा उनीहरुलाई कार्वाहीको सिफारिस गरिएको हो ।
कार्वाहीको सिफरिस गरिएकाहरुमा नेपाली काँग्रेस काभ्रेले केन्द्रिय सदस्यद्वय मधु आचार्य, गणेश लामा र काभ्रे प्रतिनिधि सभा–२ का सभापति तथा पाँचखाल नगरपालिका प्रमुख महेश खरेल रहेको जिल्ला सभापति तिर्थ लामाले जानकारी दिए ।
बैठकले आफ्नो उम्मेदवारलाई कम मत आएको पालिकामा सम्बन्धित पालिका समितिले स्पष्टीकरण सोध्न सक्ने निर्णय समेत गरेको सभापति लामाले बताए । प्रतिनिधि सभा २ मा नेपाली काँग्रेसका उम्मेदवार शिव प्रसाद हुमगाईँ एमाले उम्मेदवार गोकुल बास्कोटासँग पराजित भएका थिए । केन्द्रिय सदस्यद्वय आचार्य, लामा र प्रतिनिधि सभा–२ का सभापति खरेलले एमाले उम्मेदवार बाँस्कोटालाई सहयोग गरेको आरोप लाग्दै आएका थिए ।
प्रदेश सभा सदस्य वादेलाई समेत स्पष्टीकरण सोधिने
बैठकले नेपाली काँग्रेसका वागमती प्रदेश महामन्त्री तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ अन्तर्गत प्रदेश (ख)मा विजयी भएका कञ्चन चन्द्र वादेलाई समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको जिल्ला सचिव गुणराज मोक्तानले जानकारी दिए । प्रतिनिधि सभा २ को प्रदेश सभा (ख) मा बिजयी उम्मेदवार बादे र प्रतिनिधि सभाका उम्मेदवार शिव हुमगाईँ बीचको मत अन्तर कम हुनुको कारण बारे समेत स्पष्टीकरण सोध्ने सचिव मोक्तानले बताए ।
काँग्रेसका उम्मेदवार हुमागाईंले यस अघि आफूले टिकट पाएकै दिनदेखि ठूलो ‘चक्रब्यूह’मा परेको भनाई सार्वजनिक गर्दै आएका छन् । उनले गठबन्धन दल र दलका नेता कार्यकर्ताका कारण आफू निर्वाचनमा पराजित नभएको बताउँदै आफ्नै पार्टी भित्रको अन्तर्घातका कारण पराजित भएको बताउँदै आएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















