काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले धुलिखेलमा ख्रीष्टियान पार्क बनाउने घोषणा गरेका छन् । शनिबार ख्रीष्टियान धर्मावलम्बीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख ब्याञ्जुले यस्तो बताएका हुन् ।
ब्याञ्जुले धुलिखेलमा ६० वटा पार्क बनिसकेको भन्दै अब ख्रीष्टियान पार्क पनि बनाउने कार्यक्रममा घोषणा गरेका थिए ।

‘धुलिखेल नगरपालिका पार्क नै पार्क शहर बनाएका छौँ । ६० वटा पार्क बनेका छन् । कतै पृथ्वी नारायण शाहको, कहीँ बुद्धको, सरस्वती बजारमा बाघको पनि पार्क छ ।’ उनले भने, ‘देवीथानमा पनि अर्को पार्क बनाउँदै छौँ । अब हामीले देशभरीका ख्रीष्टियानलाई समेट्ने गरी धुलिखेलमा एउटा जिजस पार्क बनाउने छु। यो पार्कले नेपाल भरका ख्रीष्टियान धर्मावलम्बीहरुको प्रतिनिधित्व गर्छ ।’
धुलिखेलको पार्क घुम्न आउँदा बुद्ध, राम र कृष्ण मात्रै होइन जिवस् पनि हेर्न पाउन भन्ने भनाई राख्दै उनले धुलिखेललाई धार्मिक सहिष्णुता भएको शहरको रुपमा स्थापित गर्न चाहेको बताए ।
नगरप्रमुख ब्याञ्जुले ख्रीष्टियान धर्मावलम्बीको मृत्यु पछि शव ब्यवस्थापन गर्न जग्गाको अभावका विषयमा समेत नगरपालिकाले सहजताका लागि आफुले प्रयत्न गर्ने बताए ।
धुलिखेल नगर ख्रिष्ट्यान समुदाय द्वारा आयोजित ख्रिष्टमस शुभकामना आदान प्रदान कार्यक्रम धुलिखेल नगर ख्रिष्ट्यान समुदायका अध्यक्ष पास्टर लिला बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।