काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले निर्वाचनको क्रममा आफूहरूले घोषणा पत्रमा जाहेर गरेको प्रतिवद्धताहरूलाई क्रमिक रूपमा पुरा गरिरहको बताएका छन् । बुधबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालित ‘महिलाहरूको लागि लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सम्बन्धि ८ दिने सिपमुलक तालिम कार्यक्रम’को समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा अधिकारीले आजीवनका लागि चाहिने उपयुक्त सीप नै जीवनोपयोगी सीप भएकोले महिला दिदीबहिनीहरूमा जीवनोपयोगी सीप आवश्यक रहेको बताएका छन् । लप्सी उत्पादनका लागि बेथानचोक उर्वर भूमि भएकोले तालिमबाट आर्जित सीपले महिला दिदीबहिनीको जीवनस्तर माथि उठनेमा उनले विश्वास व्यक्त गरे ।

पँधेरा र चुल्हो चौकोबाट माथि उठेर जो व्यक्ति सीप सिक्दै स्वावलम्बी बन्ने भएकोले आर्थिक सामाजिक रूपमा आइपर्ने अप्ठेराहरूको व्यवस्थापन गर्न सक्ने क्षमतामा विकास हुँदैजाने र आर्थिक आत्म निर्भर हुँदै सकारात्मक परिवर्तनका लागि व्यक्तिको भूमिका प्रभावकारी बनाउन मद्दत मिल्ने हुँदा तालिमबाट आर्जित सीप व्यवहारमा लैजान तालिममा सहभागीहरुलाई अध्यक्ष अधिकारीले अनुरोध समेत गरे ।

कार्यक्रममा उपाध्यक्ष तारा राना तिमल्सिनाले बेथानचोक गाउँपालिकाले महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै लैजाने उद्धेश्य अनुरूप नै तालिम सञ्चालन गरिएको हुँदा भावी दिनहरूका तालिमलाई थप सशक्त बनाउँदै उत्पादित वस्तुहरूको बजारिकरणमा पनि सोच बनाउने बताए । समाजका सबै तह र तप्का सीपयुक्त भएमा समुन्नत समाज निर्माणमा समय नलाग्ने बताउँदै उपाध्यक्ष रानाले जीवनोपयोगी सीपहरूको कुनै सिमा नहुने भएकाले प्राप्त सीपलाई प्रभावकारी बनाउँन, उचित समयमा उचित निर्णय लिन सक्ने बन्न तालिमका सहभागीहरूलाई आग्रह गरे ।

प्रशासन प्रमुख विश्वनाथ दाहालले यस्ता तालिमले समाजमा लैङ्गिक भेदभावमा कमी ल्याउने, आत्मनिर्भर बन्न सहयोग पु¥याउने भएकोले तालिमबाट सिकेको कुरालाई कर्ममा परिवर्तन बनाउनु पर्ने कुरा बताए । यस्तै शिक्षा शाखा प्रमुख पुष्पा राईले सीप भनेकै शिक्षा भएकोले सीपले मानिसलाई चेतनशील एवं जागरूक बनाउँछ भन्दै समाजमा इमान्दार, सिर्जनात्मक सोच, भएका दक्ष जनशक्तिको खाचो पर्ने हुँदा सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।

सहभागीहरू लक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा मगर र निर्मला थापा मगर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा नं. २ का अध्यक्ष पुरूषोत्तम तिमल्सिना, वडा नं. ३ का अध्यक्ष कुबेर ढकाल लगायतको उपस्थिति रहेको थियो । ८ दिनसम्म सञ्चालित तालिममा २५ जना सहभागी थियो । तालिमबाट सहभागीहरूले १५ थरी लप्सीको क्याण्डी तथा पाउँ र माडा बनाउने सीप सिक्नु भएको छ । कार्यक्रम महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी सुशिला राईले सञ्चालन गरेका थिए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला