काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले पालिकाको गाउँबस्तीमा नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य तथा ल्याप परिक्षण शिविर वडा नं. १ मा सम्पन्न भएको छ । वडा नं. ५, नारायणस्थानबाट शुरु गरिएको शिविर अभियान बिहीबार र शुक्रबार १ नं. वडामा सञ्चालन गरिएको थियो ।
प्रत्येक वडामा २/२ दिन शिविरको आयोजना गरेअनुसार बिहिबार र शुक्रबार वडा नं. १ मा आइपुगेको पालिका अध्यक्ष चन्द्र बहादुर लामाले बताए । यो शिविर जनताको लागि फलदायी हुने र आगामी आर्थिक वर्षमा स्वास्थ्य सम्बन्धी योजना बनाउन मार्गदर्शन हुने अपेक्षाका साथ आयोजना गरिएको उनले बताए ।
गाउँपालिका उपाध्यक्ष दलमान थोकर (डिएम)ले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले आजसम्मकै सबैभन्दा ठूलो र व्यवस्थित शिविर सञ्चालन गरेको दावी गर्दै शिविरबाट तेमालबासीहरुको स्वास्थ्य अवस्था थाहा हुने र यसले आगामी दिनमा स्वास्थ्य नीति निर्माण र कार्यन्वयमा सहजता आउने बताए ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले शिविरमा सुगर जाँच, मृगौला सम्बन्धि रगत जाँच, मुटु सबन्धि रगत जाँच, यूरिक एसिड जाँच, पिसाव जाँच, इसिजी सेवा प्रदान गरिएको जानकारी दिए ।
वडा अध्यक्ष इन्द्रबहादुर अधिकारीले वडाबासी जनताको स्वास्थ्य सुधारका लागि यस खाले शिविर फलदायी हुने विश्वास व्यक्त गरे ।
स्थानीय सामुदायिक स्वास्थ्य इकाईमा आयोजित शिविरबाट ३ सय ३० जना लाभान्वित भएको इकाई प्रमुख लोकनाथ चिमौरियाले जानकारी दिए ।
शिविर कार्यक्रममा आइपुगेका पालिका अध्यक्ष लामा, थोकर, प्रमुख प्रशाशकीय अधिकृत केदार ढकाल, स्वास्थ्य शाखा प्रमुख पाठक, स्वास्थ्यकर्मी लगायतको टोलीलाई वडा अध्यक्ष इन्द्र बहादुर अधिकारी, वडा सचिव इन्द्र चिमौरिया, स्वास्थ्य इकाई प्रमुख लोकनाथ चिमौरिया लगायतले स्वागत गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















