काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा निःशुल्क अप्रेशन सहितको आँखा शिविर सञ्चालन हुने भएको छ । शिविर तेमाल गाउँपालिकाको आयोजना र लायन्स क्लव अफ काठमाडौं कन्चनजंगाको सहयोगमा संचालन हुने गाउँपालिका अध्यक्ष चन्द्र लामाले जानकारी दिएका छन् ।

‘मानिसको अति महत्वपूर्ण अंग आँखाको संरक्षण गरौं, बृहत निःशुल्क आँखा शिविरमा सहभागी बनौं ।’ भन्ने मूला नाराका साथ हुन गइरहेको शिविर आगामी पुस २६, २७ र २८ गते गरी ३ दिन सञ्चालन हुने अध्यक्ष लामाले बताए । यस अघि प्रत्येक वडामा २/२ दिन ‘नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य तथा ल्याप परिक्षण शिविर’को आयोजना गरेको गाउँपालिकाले यो पटक भने गाउँपालिकाको केन्द्र पोखरी नारायणस्थानमा तीन दिने शिविर सञ्चालन गर्न लागेको उनले बताए ।

जनताको सेवामा निरन्तर लाग्ने बताउँदै अध्यक्ष लामाले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए । ‘तेमालमा जनताको स्वास्थ्य अवस्था बुझ्न हामीले प्रत्येक वडामा २/२ दिन नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य तथा ल्याप परिक्षण शिविर सञ्चालन गर्‍यौं ।’ लामाले भने, ‘त्यो शिविरबाट तेमाल सरकारको स्वास्थ्य नीति र योजना बनाउन निक्कै ठूलो टेवा पुगेको छ । तेमाली जनताकै माग अनुसार निःशुल्क अप्रेशन सहितको आँखा शिविरको आयोजना गरेका छौं ।’

आँखा शिविरमा नेपाल आँखा अस्पतालका बरिष्ठ चिकित्सकहरुद्वारा निःशुल्क आँखा परिक्षण तथा मोतीबिन्दुको निःशुल्क अपरेशन गरिने स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिए । उनको अनुसार शिविर बिहान ९ बजे देखि दिनको ३ बजेसम्म नाम दर्ता गर्न सक्नेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।