काभ्रे जिल्ला भरिको अवैध क्रसर उद्योग तथा ढुंगाखानी उद्योग बन्द गर्ने निर्णय भएको छ । शुक्रबार सम्पन्न जिल्ला विपद् व्यवस्थापन समिति, काभ्रेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले हालसम्म दर्ता र नवीकरण नभएका सबै नदीजन्य र खानीजन्य उद्योग बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी अमर दिप सुनुवारले जानकारी दिए ।

गृह मन्त्रालयले देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गर्न परिपत्र जारी गरेसँगै काभ्रेमा सो उद्योगहरु बन्द भएको छ । त्यसैगरि यस अघि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक नदी तथा खानीजन्य उद्योगहरुको अनुगमन गर्न गठीत कार्यदलको तयार पारेको रिपोर्ट अनुसार जिल्लाका सबै जसो क्रसर र ढुंगा खानी अबैध छन ।

‘अबैध क्रसर र ढुंगा खानी कति छन् भन्ने यकिन तथ्याङक त छैन् । तर गृह मन्त्रालयको परिपत्र अनुसार आज जिल्ला विपद् ब्यवस्थापन समितिले बन्द गर्ने निर्णय गरेको छ ।’ सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने, ‘हालसम्म दर्ता नभएका र नवीकरण नगरिएको नदी र खानीजन्य उद्योगहरु बन्द हुनेछन् ।’

बैठकमा पूर्वमन्त्री एवं काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद गोकुल बाँस्कोटा र पूर्व राज्यमन्त्री एवं निर्वाचन क्षेत्र नम्बर १ का सांसद सूर्यमान दोङ (लालध्वज), बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल सहित विभिन्न स्थानीय तहको प्रमुख सहभागि थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।