काभ्रे प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा (ख) का सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति तिर्थ लामाले काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका ४ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । आइतबार सांसद लामाले वडा नं. २ का पाँच वटा विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले देश विकासको पहिलो आधार नै शिक्षा रहेको बताए । उनले शैक्षिक गुणस्तर कायम गर्न सबै निकाय लाग्नुपर्नेमा जोड दिंदै शिक्षामा भएको विभेदीकरणको अन्त्य गर्नुपर्ने बताए । ‘शिक्षा क्षेत्रमा देखिएको विभेदीकरण अन्त्य गर्न आवश्यक रहेको छ, शिक्षा निति समान हुनुपर्छ, जसले गर्दा मात्रै समाज र देशको विकास हुन्छ ।’ सांसद लामाले भने, ‘विकासको नाममा होडबाजी गर्दै प्रतिस्पर्धा गर्नुभन्दा शैक्षिक गुणस्तर बृद्धि गरेर विद्यार्थीहरुको भविष्य उज्जवल बनाउन म सबैलाई अनुरोध गर्दछु ।’

कार्यक्रममा चिसो बढ्दै गएकाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीका साथै न्यानोको लागि जुत्ता, मोजा र सरसफाईका लागि साबुन, मन्जन र ब्रस वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर लामाले शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका विषयमा गम्भिर भएर सोच्नुपर्ने बताए । विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नुको साथै विद्यालयका समस्याहरु समाधान गर्नका लागि पालिकाको ध्यान केन्द्रित भएको अध्यक्ष लामाले बताए ।

कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष देवराज लामाले वडा भित्रको विद्यालयको समस्यालाई मध्यनजर गर्दै सहयोग गरेकोमा धन्यवाद दिंदै वडाले गुणस्तरीय शिक्षा र विद्यार्थीहरुको समस्याकोबारेमा योजना बनाउने बताए ।

यसैबीच सर्वोद्वार माविका प्रधानाध्यापक ज्ञान्जामान तामाङले विद्यालयलाई यस्तै साथ र सहयोगको आवश्यक रहेको बताए । समग्र रुपमा विद्यालयको विकासका लागि स्थानीय, प्रदेश र केन्द्रिय सरकार र विभिन्न संघ संस्थाले सहयोग गर्ने अपेक्षा आफूले राखेको बताए ।

कार्यक्रममा काँग्रेसका नेताहरु रामध्वज लामा, राम योञ्जन लगायले मन्तव्य राखेका थिए ।

कार्यक्रममा तेमाल गाउँपालिका वडा नं २ स्थित श्री सर्वोद्वार माध्यमिक विद्यालयमा रहेका १ सय ७० जना, सरस्वती प्राथमिक विद्यालयका १७ जना, श्री सुनकोशी प्रा.वि. का ५० जना, जनउद्धार प्रा.वि. का २५ जना र श्री बालकल्याण प्रा.वि.का ४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा न्यानो बाँडेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।