सामाजिक सेवामा समर्पित संस्था कान्छी माया तामाङ फाउण्डेसनले काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३, कुँडूवाल स्थित श्री कालिदेवी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सो विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मको विद्यार्थीहरुलाई गत शनिबार जाडोमा न्यानो कपडा वितरण गरेको हो ।

शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ संस्थाले शिक्षामा केही योगदान दिने र आफ्नो सानो प्रयासले विद्यार्थीहरुमा विद्यालय जाने÷सिक्ने मनस्थिति बन्ने संस्थाको अध्यक्ष डा. दिलबहादुर तामाङले जानकारी दिनु भयो ।

कार्यक्रम तेमाल गाउँपालिका वडा नं. ३ को वडा अध्यक्ष विष्णु बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कान्छी माया तामाङ फाउण्डेसनको अध्यक्ष डा. दिलबहादुर तामाङलाई कदर पत्र तथा मायाको चिनोबाट सम्मान गरेको थियो ।

सोही अवसरमा विद्यालयकी प्रधानाध्यपक उर्मिला कार्कीले आफ्नो विद्यालयको विद्यार्थीहरुलाई छनौट गरी संस्थाले पौषको कठ्याङ्ग्रिदो जाडोमा न्यानो कपडा वितरण गरेकोमा आफु निकै हर्षित भएको धारणा राखेकी थिइन भने यस परोपकारी कार्यलाई विद्यालयसम्म ल्याउन समन्वयनकारी भूमिका निभाउनु हुने टेक बहादुर तामाङ र पञ्चबुद्ध गुम्बा समाज नेपालको सचिव रहर सिं तामाङलाई वडा अध्यक्ष तामाङले धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयको शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समितिको पदाधिकारीहरु, विद्यार्थी तथा तिनका अभिभावकहरु, स्थानिय संस्था पञ्चबुद्ध गुम्बा समाज नेपालको पदाधिकारीहरु लगायतको व्यक्तित्वहरुको बाग्लो उपस्थिति रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।