काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा तीनदिने निःशुल्क अप्रेशन सहितको आँखा शिविर शुरु भएको छ । गाउँपालिकाको आयोजना एवं लायन्स क्लव अफ काठमाण्डौ कन्चनञ्जंगाको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरको आज (सोमबार) एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष चन्द्र लामाले शिविरको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लामाले निर्वाचनको क्रममा आफू र उपाध्यक्ष दलमान थोकरले जनाएको प्रतिबद्धता अनुसार यो शिविरको आयोजना गरेको बताए । जनताको मागको सम्मान गर्दै आफूले तेमालको जनताको स्वास्थ्य क्षेत्रमा निक्कै सुधार ल्याउन लागेको बताए ।

‘स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको क्रममा र हामी विजयी भएपछि हामी दुईजना अध्यक्ष र उपाध्यक्ष तेमालको हरेक वडाहरुमा, गाउँगाउँमा गएर सम्पूर्ण बा आमाहरु र दाजुभाई दिदिबहिनीहरुलाई धन्यवाद दिने क्रममा हामीले धेरै बा–आमहरुसँग भेट गरेका थियौं । सञ्चै हुनुहुन्छ आमा ? सञ्चै हुनुहुन्छ आमा भनेर सोध्दै गर्दा कोही आमबुबाले भन्नु हुन्थ्यो, ‘कहिलेकाही टाउको दुखिरहेको छ, कहिलेकाही ढाँड दुखिरहेको छ ।’ त्यतिखेर मैले उहाँहरुलाई भनेका थिएँ कि नआत्तिनुहोस्, तपाईंहरुको लागि मैले निःशुल्क स्वास्थ्य शिविरहरु ल्याउने छु ।’ अध्यक्ष लामाले भने, ‘त्यहीं अनुरुप हामीले विभिन्न वडाहरुमा २० दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ग¥यौं । त्यो काम धेरै प्रभावकारी भयो ।’

२० दिने शिविरमा अनुगमन गर्ने क्रममा आँखाको समस्या भएका आमाबुबा भेटेपछि आफूले निःशुल्क अप्रेशन सहितको आँखा शिविर सञ्चालन गरेको बताए । ‘स्वास्थ्य शिविर अनुगमन गर्दै गर्दा बाआमाहरुसँग भलाकुसरी गर्ने मौका पाएँ । उहाँहरुले मलाई आँखको समस्या छ भन्नु भएको थियो । जसको कारण एउटा योजना बनाउने तिर म लागें ।’ उनले भने, ‘निःशुल्क अप्रेशन सहितको आँखा शिविर राख्ने मौका पायौं । त्यसैले पवित्र काममा सहयोग गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।’

यसैबीच उपाध्यक्ष दलमान थोकरले जनताको स्वास्थ्य समस्यालाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा पनि जनताको स्वास्थ्य समस्यालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

शिविरको पहिलो दिन आज २ सय ७५ जनाको आँखाको चेकजाँच गरिएको छ भने १६ जनाको मोतिविन्दुको सफल शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिए । शिविर भोलि र पर्सिसम्म सञ्चालन हुने छ । पोखरी नारायणस्थान स्वास्थ्य चौकीमा विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म शिविर संचालन भइरहेको छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, लयन्स क्लब अफ काठमाडौं कन्चनञ्जंगाका अध्यक्ष शिव अधिकारी, समाजसेवी इन्द्र दाहाल, वडानं. ५ का वडाध्यक्ष हजार सिं तामाङ लगायतका सहभागी थियो ।

सामाजिक विकास संयोजक, गाउँपालिका प्रवक्ता एवं वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङको सभापतित्वमा भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख पाठकले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।