बेथानचोक गाउँपालिकाको गाउँसभामा बेथानचोक गाउँपालिकाका अध्यक्ष श्री भगवान अधिकारी ज्यूबाट प्रस्तुत आ.ब. २०७९/८० को नीति तथा कार्यक्रम

सभाका सदस्यहरु उपस्थित गाउँपालिका उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकिय अधिकृत ज्यू, वडा अध्यक्ष ज्यूहरु,गाउँसभा सदस्यहरु, गाउँपालिका कर्मचारीहरु, पत्रकारहरु, राजनितिक दलका प्रतिनिधिहरु एंव उपस्थित महानुभावहरु नेपाली जनताको लामो, त्याग, तपस्या, बलिदानबाट जनताका प्रतिनिधि मार्फत बनाईएको नेपालको संबिधान २०७२ अनुसार दोस्रो स्थानीय तहको निर्वाचनद्वारा ” समृद्ध बेथानचोक सुखी बेथानचोकबासी” को दिर्धकालिन सोच प्राप्त गर्न म र मेरो टिमलाई निर्वाचित गराउने सम्पूर्ण बेथानचोक बासीलाई हार्दिक धन्यबाद दिन चाहान्छु ।

यस महत्त्वपूर्ण घडीमा म संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, बिकास र समृद्धिको आकांक्षा सहित समाजवाद उन्मुख राष्ट्र निर्माण गर्नका लागी पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदान गर्ने सम्पूर्ण ज्ञात / अज्ञात शहिदहरु प्रति उच्च सम्मानका साथ भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु साथै यस अवसरमा घाईते, पिडित, योद्धा र बेपत्ता नागरिकहरुलाई सम्मानका साथ सम्झन चाहान्छु ।

कोभिड -१९ को महामारीबाट भर्खरै उठ्दै गरेको विश्व अर्थतन्त्रलाई रसिया युक्रेन युद्धका कारण विश्वव्यापी संकटले नेपालको समग्र अर्थतन्त्र र कार्यप्रणालीलाई शिथिलताको चपेटामा पारेको वर्तमान जोखिमपूर्ण र चुनौतीपूर्ण अवस्थालाई आत्मसात गर्दै थोरै भएपनि अर्थतन्त्रलाई चलायमान बनाउनका लागी प्रतिबद्ध भई आगामी आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु ।

जनताको असिमित ईच्छा तथा आकांक्षा, समृद्धि प्रतिको उत्कट चाहानालाई सिमित स्रोत तथा साधन बिच तादत्मयता मिलाउदै प्राथमिकताका आधारमा बिनियोजन दक्षता, कार्य संचालनमा प्रभावकारिता तथा आर्थिक अनुशासन मार्फत दिगो विकासको लक्ष्य हासिल गर्नु नीति तथा कार्यक्रमको प्रमुख लक्ष्य हुनेछ ।

शासनको नविनतम अवधारणाले लोकतन्त्रलाई सामाजिकीकरण गर्ने एजेण्डाले महत्त्व पाउदैछ । लोकतन्त्रलाई राजनितिक र कानुनी रुपमा मात्रै अभ्यास गरेर पुग्दैन बरु यसलाई समृद्धिले लेपन गरेको खण्डमा सर्वसाधरणको उपभोग्य बस्तु हुन्छ भन्ने कुरामा हामी सचेत छौ । यसैलाई मध्यनजर गर्दै नेपालको संविधान, मर्म भावना, स्थानीय सरकार संचालन ऐन २०७४, दिगो बिकास लक्ष्य (सन् २०१६-२०३०), पन्ध्रौ योजना, नेपाल सरकार तथा प्रदेश सरकारका नीति तथा कार्यक्रम बेथानचोक गाउँकार्यपालिका तथा गाउँसभाबाट पारित ऐन नियमावली तथा कार्यविधिहरु, स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिगदर्शन तथा प्रचलित कानुन तथा मापदण्डलाई आधार बनाई पब्लिक भ्वाईस र पब्लिक च्वाईसलाई मूल मन्त्र मान्दै यो नीति तथा कार्यक्रम तय गरिएको छ ।

आयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मुल्याङकन सम्बन्धि नीति

  • आयोजना ब्यबस्थापन प्रणालीका लागी बेथानचोक गाउँपालिकामा संचालन गर्नु पर्ने आयोजनाहरुको प्रोजेक्ट बैंक तयार गरिनेछ र प्रदेश तथा संघको सहकार्यमा आयोजना कार्यान्वयन गरिनेछ ।

  • नतिजामुलक आयोजना प्राणलीको लागी सहभागितामुलक अनुगमन तथा मुल्याङकन प्रणालीको अवलम्बन गरिनेछ ।

  • आयोजनाबाट प्राप्त नतिजाको प्रभावकारीताको मापनको लागी सार्वजनिक लेखा परिक्षण, सामाजिक परिक्षण, सार्बजनिक सुनुवाई विधिको प्रभावकारी उपयोग गरिनेछ।

सुशासन प्रवर्धन तथा संस्थागत बिकास संम्बन्धि नीति

  • बेथानचोक गाउँपालिका प्रविधि मैत्री गाउँपालिकाको रुपमा पहिचान गराउन डिजिटल गाउँपालिकाको रुपमा बिकास गरिने नीति लिईनेछ । बेथानचोक गाउँपालिकाको बित्तिय कारोबारलाई कम्प्युटराईज गरी थप ब्यबस्थित गरिनेछ । वडास्तरबाट संकलन हुने राजस्वलाई पारदर्शी एवं प्रभावकारी बनाउन गाउँपालिकाको केन्द्रिकृत प्रणालीमा आवद्ध गरी थप ब्यबस्थित बनाईनेछ ।

  • व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा ब्यबस्थापनलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई आवश्यक तालिमहरु संचालन गरी उच्च कोटीको प्रविधि अवलम्बन गर्ने नीति ल्याईनेछ ।

  • व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षाको प्रभावकारिता कायम गर्न बिभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु गरिने नीति लिईनेछ ।

  • आन्तरिक लेखा परिक्षण पद्धतीलाई प्रभावकारी बनाईनेछ । बेरुजु हुन नदिने र फर्छयौटलाई ब्यबस्थित गरिनेछ ।

  • गाउँपालिकाको कार्यालयमा आन्तरिक संचार सुदृढ गर्न ईन्टरकम टेलिफोन प्रणालीलाई जडान गरिनेछ। गाउँपालिकाको कार्य प्रणालीलाई सुरक्षीत, पारदर्शी र थप ब्यबस्थित बनाउन वडा कार्यालयहरुमा समेत क्रमश डिजिटल प्रविधि जडान गरिनेछ ।

  • सूचना पहुँच अभिवृद्धि गर्न गाउँपालिकामा जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई सूचना प्रविधि सम्बन्धि तालिम संचालन गरिनेछ । सम्पन्न योजना प्रणालीलाई सूचना प्रविधिमा आवद्ध गरिनेछ ।

  • नागरिक वडापत्रको प्रभावकारिता वृद्धि गर्न प्रविधिमा आधारित नागरिक वडापत्र तयार गरिनेछ । नागरिक वडापत्रलाई सबै तह, तप्का तथा वर्गको पहुँचमा पुर्याउने तर्फ आवश्यक काम गरिनेछ ।

  • सेवा प्रवाहमा समावेशीता तथा समानतामुलक व्यबहारको लागी First Come First Service Last Come First Service को नीति पनि अवलम्बन गरिनेछ । यसबाट अशक्त अपाङ्गता भौगोलिक विकट क्षेत्रमा रहने सेवाग्राही लाभान्वित हुनेछन् ।

  • स्थानीय सरकारलाई सर्जमिनको सरकार “Government on the spot” अनुभुती गराउनका लागी ” जनतासँग जनप्रतिनिधि कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षको उपस्थितीमा प्रत्येक वडामा अन्तरसंवाद कार्यक्रम मार्फत गुनासो ब्यबस्थापन गरिनेछ ।

  • संस्थागत क्षमता विकास मार्फत सेवा प्रवाहमा चुस्तता ल्याउन जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धिमा जोड दिइनेछ । यसका लागी तालिम, प्रशिक्षण तथा अवलोकन भ्रमण ब्यबस्थापन गरिनेछ ।

  • समग्र कर्मचारी तथा जनप्रतिनिधिलाई नतिजाप्रति जवाफदेहिताका लागी कार्यसम्पादन सम्झौता गरी कार्य ब्यबस्थापन प्रणाली सुदृढ गरिने छ।

  • गाउँपालिका भित्र शान्ति सुरक्षा कायम गर्न, गाउँपालिकाको प्राकृतिक स्रोत साधनको रेखदेख तथा संरक्षण गर्न गाउँ प्रहरीको व्यबस्था मिलाईनेछ।

  • अर्थतन्त्रको विशेष क्षेत्रमा ध्यानकेन्द्रित गर्न कृषि नीति, स्वास्थ्य नीति, पर्यटन नीति तजुर्मा गरी नीजि क्षेत्रसँग समन्वय गरी हातेमालो गर्दै अगाडि बढ्ने नीति लिईनेछ ।

  • प्रभावकारी यातायात व्यबस्थापनको लागी आफ्नो मौलिक पहिचान बोकेको बेथानचोक सफारीको ब्यबस्था मिलाईनेछ ।

विपद ब्यबस्थापन तथा जलवायु परिवर्तन सम्बन्धि नीति

  • विपद जोखिम पूर्वानुमान पूर्वतयारी प्रतिकार्य र पुर्नलाभ सम्बन्धि क्षमता बिकासका लागी आवश्यक बन्दोबस्ती तथा सचेतनाका कार्यक्रम संचालन गरिनेछ।

  • बिकास निर्माणका गतिविधि संचालन गर्दा विपद जोखिमका सम्बन्धमा विचार पुर्याईनेछ ।

  • विपद सूचना दिएर नआउने भएकाले विपदसँग लड्न प्रकोप ब्यबस्थापन कोषमा थप रकम ब्यबस्थित गरिनेछ ।

  • जलवायु परिवर्तन मौन विश्वव्यापी संकटको रुपमा देखा पर्दैछ । जलवायु परिवर्तन अनुकुल क्षमता अभिवृद्धी तथा प्रतिकुल प्रभावको न्युनिकरणका लागी साझेदारीमा कार्यक्रम संचालन गरिनेछ ।

  • सडक, नाली,सार्बजनिक स्थल र खुल्ला स्थानमा फोहोर फाल्नेलाई कारवाही गरिनेछ। सोको प्रभावकारी अनुगमनको ब्यबस्था मिलाईनेछ । सरसफाई र फोहोर ब्यबस्थापनलाई ब्यबस्थित बनाउन वडा स्तरमा फोहोर ब्यबस्थापन तथा अनुगमन समिति गठन गरी प्रभावकारी रुपमा परिचालन गर्ने नीति लिइनेछ ।

  • जैविक, अजैविक फोहोरलाई उत्पादन तह देखी नै वर्गिकरण गरी जैविक फोहोरबाट घरमै कम्पोस्ट मल बनाउन प्रेरित गरिनेछ । नगल्ने फोहोर व्यबस्थापनका लागी मुख्य मुख्य ठाँउमा इन्सिनेटर राखेर जलाउने ब्यबस्था गरिनेछ।

राजश्व परिचालन तथा स्रोत अभिवृद्धि सम्बन्धि नीति

  • ब्यबसाय करको दायरा बढाई बढी भन्दा बढी व्यबसायीलाई कर तिर्न प्रोत्साहित गर्न विविध कार्यक्रम सहित कर जागरण कार्यक्रम संचालन गर्नुका साथै राजस्व संकलन कार्यलाई ब्यबस्थित गर्न विद्युतीय प्राणालीको उपयोग वडा कार्यालयबाट कर शुल्क तथा दस्तुर असुल गर्ने ब्यबस्था मिलाईनेछ।

  • वार्षिक रुपमा ब्यबसाय कर असुली कार्यलाई थप प्रभावकारी बनाउन व्यबसाय कर तिरौ, बिकास कार्यमा सरिक हौ’ भन्ने नाराका साथ वडा समिति र टोल बिकास संस्थाहरुलाई अभिमुखिकरण सहित शशक्त बनाई परिचालन गरिनेछ ।

  • गाउँसभाद्वारा पारित कर, असोज मसान्त भित्र बुझाउनेलाई सम्पत्ती कर व्यबसाय कर, घर बहाल करमा लाग्ने करमा १०% छुट दिईनेछ।

  • गाँउपालिकाअन्तर्गत रहेका सार्वजनिक जग्गामा गाउँपालिकाले व्यक्ती स्वयमले गाउँपालिकाबाट स्वीकृती लिई अस्थाई संरचना बनाई उपभोग गर्न दिएको खण्डमा बहाल बिटौरी कर असुल गरिनेछ । यसरी अस्थायी संरचना बनाई उपभोग गर्दा गाउँपालिकाले आवश्यक परेको खण्डमा जग्गा खाली गर्न वाधा परेको मानिने छैन ।

  • आफ्नो वा सगोल परिवारले गाउँपालिकालाई भुक्तानी गर्नुपर्ने कर शुल्क दस्तुर समयमा नबुझाई बक्यौता राखेमा करदातालाई यस गाउँपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा तथा सिफारिस रोक्का गरिनेछ।

  • बेथानचोक गाउँपालिकालाई नियमित र बार्षिक रुपमा सबै भन्दा बढी कर तिर्ने करदातालाई प्रोत्साहान स्वरुप सम्मान गरिनेछ ।

  • बेथानचोक गाउँपालिकाको स्वामित्वमा रहेको संरक्षण र भोगचलन गर्न सक्ने भवन, जग्गा जमिन, खोलानाला तथा प्राकृतिक स्रोत साधनको अभिलेख अद्यावधिक गरी प्राप्त राजस्वलाई आम्दानीको माध्यमको रुपमा परिचालन गरिनेछ । यस्तो स्रोत परिचालन गर्दा प्रतिष्पर्धात्मक पद्धतिको अवलम्बन गरिनेछ ।

  • स्रोत परिचालन र ब्यबस्थापनमा बेथानचोक गाउँपालिकालाई सक्षम र आत्मनिर्भर बनाउन प्रचलित कानुन बमोजिम लगाउन सकिने सबै स्रोतहरुको बास्तबिक पहिचान, विश्लेषण तथा समग्र राजश्व सम्भाव्यताको विस्तृत अध्ययन गरिनेछ ।

न्यायिक शाखा

  • न्यायिक समितिलाई थप ब्यबस्थित बनाउन न्यायिक ईजलास निर्माण गरी न्याय सम्पादन कार्यलाई छिटोछरितो, प्रभावकारी रुपमा संचालन गरिनेछ।

  • सामुदायिक मेलमिलाप केन्द्रलाई थप ब्यबस्थित गरिनेछ ।

  • न्यायिक समितिबाट निशुल्क रुपमा प्रवाह गरिरहेको न्याय सम्पादन कार्यलाई निरन्तरता दिईनेछ ।

  • न्यायिक समिति र जनता बिच प्रत्येक वडामा गई गुनासो / समस्या संकलन र समाधान गर्ने कार्य गरिनेछ ।

  • कानुनि साक्षरता सम्बन्धि कार्यक्रम वडास्तरमा संचालन गरिनेछ ।

  • हिंसा पिडित महिलाहरुको पुनःस्थापना, उद्धार र निशुल्क कानूनी उपचारको लागी प्रदेश सरकारको सहकार्यमा सेवा केन्द्र संचालन गरी सेवा प्रदान गरिनेछ।

  • न्यायिक समितिका कामलाई प्रभावकारी बनाउन मुद्दा दर्ता बहस फैसलालाई चुस्त दुरुस्त बनाईनेछ ।

सामाजिक बिकास सम्बन्धि नीति

  • देशको स्रोत र सामर्थ्यलाई अधिक्तम सदुपयोग गर्न सक्ने राष्ट्रिय शिक्षा र अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने गुणस्तरिय शिक्षा दुवै पाटालाई शिक्षाले समेटन सक्नु पर्छ । श्रम, सिप र उत्पादनसँग नजोडिने शिक्षाले देशको समृद्धिमा योगदान दिन सक्दैन । माटो सुहाउँदो प्राविधिक शिक्षाले मात्र बेरोजगार र निष्क्रिय जनसंख्यालाई सक्रिय बनाउँछ । शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारसँग, रोजगारलाई आयसँग आयलाई पूँजीसँग पूँजीलाई लगानीसँग लगानीलाई प्रविधिसँग र प्रविधिलाई समृद्धीसँग जोड्ने शिक्षाको लागी बेथानचोक बहुप्राबिधिक शिक्षालय स्थापनाको लागी प्रयत्न गरिनेछ ।

  • शिक्षाका दुई धार छन् पढेर सिक्ने र गरेर सिक्ने । पढेर सिकिने शिक्षाले ज्ञानका आधारमा सामाजिक तह सोपान खडा गरेको छ, गरेर सिक्ने शिक्षाले पढाईका साथ वृत्ति र व्यबसायको पनि निर्माण गर्दछ । यसका लागी उद्यमशिल सीप तालिम कार्यक्रम मागका आधारमा संचालन गरिने छ ।यसका साथै संघ सरकारसँग समन्वय गरी पढ्दै कमाउदै कार्यक्रम शुरु गरिनेछ।

  • विद्यालय स्तरको पढाईको गुणस्तर अभिवृद्धीको लागी अभिभावक शिक्षा कार्यक्रम संचालन गरिनेछ ।

  • अब बन्ने विद्यालय तथा सरकारी भवनलाई अपाङ्गता मैत्री बनाउन प्रोत्साहित गरिनेछ ।

  • वेथानचोक गाउँपालिका भित्र अध्ययन गरी SEE परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिनेछ ।

  • सृजनात्मकता, अनुसन्धान विज्ञान तथा प्रविधि बिकासको लागी बर्षमा एक पटक वृहत विज्ञान प्रदर्शनीको आयोजना गरिनेछ ।

  • खेलकुदको माध्यमबाट बेथानचोकलाई चिनाउनका लागी ‘ एक वडा एक खेल मैदान ‘ निर्माण गरिनेछ ।

  • ज्येष्ठ नागरिकमा भएको सिप तथा अनुभवबाट ज्ञान हासिल गर्नका लागी ‘ अन्तर पुस्ता सिप हस्तान्तरण ‘ कार्यक्रम सुरु गरिनेछ ।

  • ज्येष्ठ नागरिकले राज्यलाई गरेको योगदानलाई कदर गर्दै ज्येष्ठ नागरिक विश्राम स्थल निर्माण गरिनेछ ।

  • बेथानचोकको ग्रामिण भेगमा रहेका विद्यालयहरुमा शिक्षक अभावको समस्या न्युनिकरणका लागी गुणस्तरिय शिक्षा प्रदान गर्न ” अध्यक्षसँग युवा विद्यार्थी ” तथा घुम्ती शिक्षक कार्यक्रम संचालन गरिनेछ।

  • बेथानचोकको धार्मिक, सांस्कृतिक, पौराणिक, मौलिक पहिचानलाई समेट्ने गरी विद्यालय स्तरिय स्थानीय पाठ्यक्रमलाई तय गरी लागु गरिनेछ।

  • ‘समुन्नत र समृद्ध बेथानचोकको आधार, महिला क्षमताको बिकास ‘ भन्ने सोचलाई मूर्तरुप दिन गाउँपालिका क्षेत्र भित्र महिला शशक्तिकरण साथै उद्यमशिलता गर्न ‘ उपाध्यक्षसँग महिला पहिला ” कार्यक्रम संचालन गरिनेछ।

  • उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय भने जस्तै ज्येष्ठ नागरिकहरुको रोगको समयमै पहिचान र रोकथाम गरी जिवनको रक्षाको लागी ‘ गाउँपालिका अध्यक्ष ज्येष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत ६० बर्ष पुगेका नागरिकलाई निशुल्क होल बडी स्वास्थ्य परिक्षण गरिनेछ।

  • एम्बुलेन्स सेवालाई सबैको समान रुपमा पहुँच पुर्याउन एम्बुलेन्स भाडाको पुनरावलोकन गरिनेछ ।

  • सुत्केरी आमा पोषिलो खाना ‘ कार्यक्रम मार्फत आमा तथा वच्चा दुवैको स्वास्थ्यमा हेरविचार गरिनेछ ।

  • समुदाय स्तरमा देखिन सक्ने रोग नियन्त्रणका लागी सरकारी तथा गैर सरकारी संघसस्थाहरुको सहकार्यमा समुदायको माग बमोजिम आवश्यकताका आधारमा स्वास्थ्य शिविर संचालन गरिनेछ ।

  • ६० बर्ष पुगेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिर्घ सेवा सम्मान सहित विदाई गरिनेछ ।

‘आहतमा परेकालाई राहत ‘ दिनु पर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै विपदमा परेका जटिल प्रकृतिका रोग लागेकालाई सामाजिक संरक्षणको जिवन चक्र सिद्धान्त अन्तर्गत ‘वडाध्यक्ष मार्फत विपद सहयोग ‘ कार्यक्रम मार्फत विपदमा परेकालाई सहयोगको ब्यबस्था मिलाईनेछ ।

  • ‘ गाउँपालिका अध्यक्षसँग वालवालिका कार्यक्रम ‘ मार्फत वाल अधिकार संरक्षण र प्रवर्धन गर्नुका साथै वालवालिकाको क्षमता पहिचान गरी वृति पथ निर्माणका लागी ट्यालेन्ट हन्ट कार्यक्रम गरिनेछ ।

  • अभिभावक बिहिन बालबालिकाको संरक्षणको लागी प्रत्येक महिना प्रत्येक वालबालिकालाई रु.२०००।- संरक्षण भत्ता उपलब्ध गराईनेछ । बेथानचोक गाउँपालिकालाई लैंगिक हिंसा मुक्त, वालमैत्री गाउँपालिका घोषणा गर्न विशेष पहल गरिनेछ ।

  • ‘ समृद्धिका लागि युवाको क्रियाशिलता, हातमा सिप र दिमागमा उद्यमशिलता ‘ सोच कार्यान्वयनका लागी ‘ उपाध्यक्षसँग उद्यमशिल कार्यक्रम ‘ मार्फत युवाको सिपलाई उत्पादसँग जोडी युवाद्वारा उत्पादित बस्तुलाई ब्रान्डिङ गरिनेछ ।

  • गाउँपालिका भित्रका युवा जनशक्तीलाई निजामती सेवा तथा शिक्षक सेवामा आकर्षण गर्नका लागी तयारी कक्षा संचालन गरिनेछ ।

  • बेथानचोक गाउँपालिकाका शिक्षकलाई प्रोत्साहान गर्न ब्यबस्थापन, मानविकी, बिज्ञान, ईन्जिनियरिङ संकाय अन्तर्गत स्नातक र स्नातकोत्तर अध्ययनरत मेधावि एक जना बिद्यार्थीलाई प्रत्येक बर्ष छात्रवृत्ती स्वरुप रु.५०,०००।- प्रदान गरिनेछ साथै यस बेथानचोक गाउँपालिकाको विद्यालयमा अध्ययन गरी MBBS अध्ययन गर्ने बिद्यार्थीलाई वार्षिक रु.२०००००।- छात्रवृत्ती प्रदान गरिनेछ।

  • कार्यसम्पादको आधारमा रात दिन नभनि खट्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहान गरिनेछ ।

  • आयुर्वेद चिकित्साको माध्यमबाट पनि बिभिन्न रोगको रोकथाम नागरिकको स्वास्थ्य प्रवर्धन तथा उपचारलाई प्रभावकारी र ब्यबस्थित गर्दै समुदायस्तरमा प्रचारात्मक तथा सन्देशमुलक रुपमा नागरिक आरोग्यताका लागी आयुर्वेदका विभिन्न स्वास्थ्य प्रवर्धनामक कार्यक्रमहरु संचालन गरिनेछ । ढुङ्खर्क स्वास्थ्य चौकीमा अवस्थित आयुर्वेद केन्द्रलाई थप शशक्त बनाईनेछ ।

  • खेलकुद मार्फत पर्यटनलाई प्रवर्दन गर्न अन्तरपालिका खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ ।

पूर्वाधार विकास

  • पूर्वाधार संरचनाले उत्पादन प्रकियालाई सहजिकरण गरी अर्थतन्त्रको लागत घटाउँछ। उत्पादन र उपभोग वीचको सम्बन्धमा सजिलो बनाउँछ । यसको गुणात्मक प्रभावले अर्थतन्त्रका अन्य आयाम कृषि, उद्योग, पर्यटन उर्जा क्षेत्रलाई चलायमान बनाउँछ । यसै पृष्ठभूमीमा रहेर यो आ.व.मा बेथानचोक गाउपालिकाले गुणस्तरिय सडक निर्माणमा जोड दिई कालोपत्र सडक निर्माण सुरु गरिनेछ ।

  • भुमी मार्फत उत्पादन तथा उत्पादकत्व भुमीवृद्धिका लागी भु-उपयोग नीति बनाई जग्गालाई आवास क्षेत्र, कृषि क्षेत्र, बन क्षेत्र, औद्योगिक क्षेत्र चरीचरन क्षेत्रमा छुट्टयाई भु-उपयोग ब्यबस्थित गर्ने नीति लिइनेछ ।

  • सार्बजनिक सम्पत्तीको रुपमा रहने सार्बजनिक जग्गा, सार्वजनिक भवनको अभिलेख राखी संरक्षण गरिनेछ । यसका लागी सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समिति गठन गरी कार्य अगाडी बढाइनेछ ।

  • उज्यालो बेथानचोक अभियानलाई सफल बनाउन बेथानचोकका मुख्य सडकमा सोलार बत्ती जडान गरिनेछ ।

  • बेथानचोक गाउँपालिकालई काठको पोल मुक्त गाउँपालिका बनाउन प्रयत्न गरिनेछ।

    लड्कुखोला र च्याल्टी खोलाको पानीबाट बिद्युत उत्पादन गर्नका लागी सम्भाव्यता अध्ययन गरिनेछ।

  • गाउँपालिका भित्रका नागरिकहरुलाई सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउन जनसहभागितामा आधारित खानेपानी आयोजना संचालन गरिनेछ । हाल संचालनमा रहेको ‘ एक घर एक धारा ‘ कार्यक्रमलाई थप प्रभावकारी बनाईनेछ।

  • बेथानचोक भित्र रहेका पुरातात्विक, धार्मिक, सांस्कृतिक महत्व बोकेका बस्तुहरुको संकलन गरी बेथानचोक संग्राहलय स्थापना गरिनेछ।

  • ‘ बेथानचोक बिकासको आधार पर्यटन र पूर्वाधार ‘ भन्ने नारालाई सार्थक बनाउन बेथानचोक नारायण मन्दिर, कपेर महांकाल मन्दिर , कपेर डाँडामा ऐतिहासिक गढी, गुम्बुडाँडा, तीनतले झरना, क्षेत्रपाल महांकाल भैरव अल्कापुरी तीनधारा झरना, रतनखोला, छ्याङळ्याङ खोला, हर्क भन्ज्याङ,थलिडाँडा, गजराम थुम्को, गुम्बुडाँडा, तिप्चोक, शिव गुफा, शान्ति महांकाल, पटगाँउ डाँडा कामी डाँडा, भुग्देउ महांकाल, कालीदेवी मन्दिर, तिलेश्वर महादेव, लक्ष्मी नारायण मन्दिर र गुफाहरु लगायत ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, संवर्धन गरी प्रचार / प्रसार मार्फत पर्यटक आकर्षित गरिनेछ । बेथानचोक नारायणस्थान जानकालागी केबलकारको संभाव्यता अध्ययन गरिनेछ।

  • बेथानचोक १ च्यामराङबेसीको प्रकोप जोखिम भूमिको ख्याल राखी दुर्लुङखोला च्यामराङबेशि सुरुङ्ग मार्गको सम्भाव्यता अध्ययन गरिने ।

  • शहरी बिकासको पूर्वाधारको स्तम्भको रुपमा मानिने बसपार्क, सार्बजनिक शौचालय, प्रतिक्षालय, मनोरञ्जन पार्क निर्माणको लागी प्रदेश सरकार तथा संघिय सरकारको समन्वयमा कार्य प्रारम्भ गरिनेछ ।

  • सरकारी तथा गैर सरकारी संस्थाबाट संचालन हुने सभा सम्मेलन मार्फत पर्यटन प्रवर्धन गर्न बेथानचोक सभा हलको निर्माण गरिनेछ ।

  • बेथानचोकका घना बस्तीमा विस्तार गरीएको विद्युत प्रसारण लाईनको कारण दुर्घटनाको जोखिम देखीएकाले विद्युत प्राधिकरणको समन्वयमा उक्त प्रशारण लाईनलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिनेछ ।

आर्थिक बिकास सम्बन्धि नीति

  • बेथानचोक गाँपालिकामा आवश्यक पर्ने पूर्वाधारहरु तयार गरी सहकारीको सहयोगमा कृषि उद्यम परियोजना संचालन गरिने छ । बेथानचोक गाउँपालिका भित्रको कृषि योग्य जमिनको पहिचान गरी नमुना व्यबसायिक खेतीको रुपमा एक वडा एक उत्पादन ‘ कार्यक्रम संचालन गर्न जोड दिइनेछ।

  • सामुदायिक खेती, करार खेती र व्यबसायिक खेतीको ब्यबस्था मिलाई जग्गा बाझो नराख्ने नीति सहित वाली बस्तुको विमा गर्न प्रोत्साहित गरिनेछ।

  • विश्वव्यापी खाद्यान्न संकटको सामाधान गर्न गाउँपालिकामा बसोबास गर्ने सबै नागरिकको खाद्य सुरक्षाको प्रत्याभुती गरिनेछ । सबै तहका सरकार वीच सहकार्य गरी वहुआयामिक कृषि उत्पादनमा जोड दिदै बेथानचोक गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर स्थानीय तह बनाउनका लागी सिचाँई,विउबिजनको ब्यबस्था मिलाईनेछ ।

  • कृषिमा विविधिकरण तथा व्यबसायीकरणका लागी प्रयोगशाला देखी खेतसम्म ज्ञानको हस्तान्तरण (Lab To Land ) कार्यक्रम मार्फत नया आविस्कार भएका कृषक औजारलाई सार्वजनिक नीति साझेदारी मार्फत कृषकको खेतमा पुर्याउने ब्यबस्था मिलाईनेछ ।

  • हरेक किसानसँग ‘ माटोको स्वास्थ्य परिक्षण कार्ड ‘ Soil Health Report Card मार्फत माटोको आम्लीय पन, खनीज पदार्थको अवस्थाको आधारमा कृषि प्राविधिकबाट रसायनिक मलको समानुपातिक प्रयोग गर्न सिकाउने ब्यबस्था मिलाईनेछ ।

  • कृषि उत्पादनको मूल्य अभिवृद्दीको लागी फार्म टु फाईबर, फाईबर टु फेबरिक, फेबरिक टु फेसन अर्थात जहा लप्सी उत्पादन हुन्छ, त्यही प्रशोधन, प्रशोधन भएर अचार उत्पादन, उत्पादित अचारलाई बजारसँगै जोड्न आवश्यक ब्यबस्था मिलाईनेछ ।

  • कृषि उद्यमशिलतालाइ अभिवृद्धी गर्नका लागी बैंक तथा वित्तिय संस्थासँगको सहकार्यमा कृषकलाई सहुलियत ब्याजदरमा कृषि ऋण उपलब्ध गराईने ब्यबस्था मिलाईनेछ ।

  • कृषिलाई सम्मानित पेशाको रुपमा बिकास गर्न उत्कृष्ट कृषकलाई सामाजिक सम्मानको ब्यबस्था मिलाईनेछ ।

  • गाउँ गाउँमा सहकारी, घर-घरमा स्वरोजगारी मूल नाराका साथ स्थानीय तहमा गठन भएका सहकारी संस्थाहरुको क्षमता बिकास गर्नुका साथै कृषि, पशु तथा श्रम सहकारी स्थापनामा जोड दिइनेछ ।

  • गाउँपालिका भित्र कृषि सामाग्रीको दिर्घकालिन संरक्षणका लागी साझेदारीमा एक कृषि चिस्यान केन्द्रको स्थापना गर्ने नीति लिइनेछ ।

  • बेथानचोकको भौगोलिक सुन्दरता कृषि वालीका कारण देखीने सुन्दरताको उपयोग गर्न यस बेथानचोकमा भ्रमण गर्न प्रोत्साहित गर्न प्रचार प्रसार गर्दै Agro Tourism को नीति लिइनेछ ।

  • सम्मेलन मार्फत पर्यटन प्रवर्धन गर्न साहित्यिक महोत्सव कार्यक्रम गरिनेछ भने बेथानचोकको मौलिक उत्पादनको ब्रान्डिङलाई प्रमोसन र प्रवर्धन गर्न यो आर्थिक बर्षमा बेथानचोक महोत्सबको आयोजना गरिनेछ ।

  • बेथानचोकको जल, जमिन, जङ्गल, जडीबुटीको महत्म उपयोग गर्न नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिइनेछ ।

  • बेथानचोक गाउँपालिकामा कृषि क्षेत्रको विविधिकरणका लागी समग्र बेथानचोक गाउँपालिकालाई चिया, कफि, सुन्तला, कागती, पकेट एरियाको रुपमा बिकसित गरिने नीति लिइनेछ ।

  • आलुबखडा उत्पादनलाई बजारमा नजोडिने व्यबस्थाले अर्थतन्त्रमा टेवा पुग्न सक्दैन। यसका लागी कृषकबाट उत्पादित बस्तुको संलकन केन्द्र तथा कृषि हाट बजारको ब्यबस्था गर्ने नीति लिइनेछ ।

  • पदयात्रा पर्यटन प्रवर्दनका लागी महाभारत ट्रेल तथा प्रयत्न गरिनेछ।

  • ट्रेलको लागी गाउँपालिका भित्र संचालनमा रहेका होटल, रिसोर्ट होमस्टेहरुको प्रभावकारी नियमन गर्दै यिनलाई आन्तरिक तथा वाह्य पर्यटन प्रवर्दन गर्न महत्त्वपूर्ण आधारको रुपमा बिकास गरिनेछ ।

अन्तिममा यो नीति कार्यक्रमको केन्द्रविन्दुमा जनता हुनेछन । नीतिमा उल्लेखित व्यबहारमा लागू गर्न रु.५९,११,३९,०००।- अक्षरुपी ( रु. उनानसाठी करोड एघार लाख उनानचालिस हजार ) जसमा चालु रु.३१,०,५,००,०००।- अक्षरुपी (रु. एकतीस करोड पाच लाख ), पुजिगत तर्फ रु.२८०,६,३९०००।- अक्षरुपी (रु.अठाईस करोड छ लाख उनानचालिस हजार ) बजेटको सिलिङ तोकेको छु । सबैलाई समान अबसर, समान अधिकारको प्रत्याभूति गरिनेछ ।

यो नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागी सहकार्य र समन्वय आवश्यक छ । यसको प्रभावकारी कार्यान्वयनको लागी सबैको अर्थपूर्ण सहभागिता हुनेमा विश्वस्त छु । यो नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी सभाका सदस्यज्यूहरु, बिषयगत समितिका पदाधिकारी, वुद्धिजिवी, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक लगायत सबैलाई हार्दिक धन्यबाद दिदै नीति तथा कार्यक्रम अनुसार यस बेथानचोक गाउँपालिकालाई समृद्ध बेथानचोक, सुखी बेथानचोकवासी ‘ को पथमा हिड्न सबैलाई आह्वान गर्दछु ।

धन्यवाद
भगवान अधिकारी, अध्यक्ष, बेथानचोक गाउँपालिका

मिति :२०७९-०३-१०

Comments

comments