काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’मा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ तावर÷ह्योई ल्हो (विरालो वर्ग)को सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यस अन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले ल्होछार पर्व मनाउनको लागि आगामी माघ ७, ८ र ९ गते गाउँपालिका अन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको बताए ।

गाउँपालिकाले विविध कार्यक्रम गरी तीन दिन ल्होछार मनाउने जनाएको छ । अध्यक्ष थिङका अनुसार पहिलो दिन (माघ ७ गते) लामा खेन्पोबाट पुजा, दोस्रो दिन तामाङ भाषाको व्हाईखा (कविता) र ताम्बा÷डम्फू गीत प्रतियोगितासँगै तेस्रो दिन बृहत साँस्कृतिक कार्यक्रम सहित ल्होछार मनाउन लागिएको हो ।

उनले ल्होछारलाई गाउँपालिकाको साझा पर्वको रुपमा मनाउन ल्होछार मुल आयोजक समितिको सचिवमा गैरतामाङ समुदायको व्यक्तिलाई राखिएको बताए । गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय ल्होछार मुल आयोजक समिति यसअघि नै गठन गरिसकेका छन् ।

गाउँपालिका उपाध्यक्ष तथा समितिका संयोजक जिम्बाले व्हाईखा र ताम्बा प्रतियोगिताका प्रथम, द्धितीय र तृतीयलाई नगद सहित प्रमाणपत्र समेत दिने बताए । त्यस्तै उनले ल्होछारको अवसरमा गाउँपालिकाभित्र जन्मिएर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको व्यक्तिहरुलाई ‘खानीखोला प्रतिभा सम्मान’ कार्यक्रममार्फत् सम्मान गरिने बताए ।

ल्होछारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लाे अर्थात् वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होछारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । तामाङ समुदायले चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्षको रुपमा मान्ने गरिन्छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला