काभ्रेको तेमाल गाउँपालिकामा शारीरिक अपांगता परिक्षण शिविर सम्पन्न भएको छ । गते पौष २८, २९ र ३० गते गरि ३ दिन सञ्चालन भएको उक्त शिविर वडा नं. ८ र ९ मा पुगेर समापन गरिएको थियो ।

शारीरिक अपांगता परिक्षण शिविरको संयोजक तथा गाउँपालिका उपाध्यक्ष दलमान थोकरको सहभागीतामा सो शिविर समापन गरिएको हो ।

कार्यक्रममा उपाध्यक्ष थोकरले शिविर अपेक्षाकृत सफल भएको बताउँदै शिविरमा सहभागी स्वास्थ्य कर्मी र अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र, बनेपालाई धन्यवाद समेत ज्ञापन गरे । उनले तेमालको जनताको स्वास्थ्य अवस्था थाहा पाउन शिविरको आयोजना गरेको बताउँदै महिला स्वास्थ्यसँग मात्र सम्बन्धित रहेर फेरि पनि अर्को शिविरको आयोजना गर्न आफूहरु लागेको बताए ।

महिला बालबालिका शाखाका प्रमुख दीपा नेपालीका अनुसार कार्यक्रम अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोग र तेमाल गाउँपालिकाको आयोजानामा भएको थियो । शाखा प्रमुख नेपालीका अनुसार सो शिविरमा २ सय ५० जना अपांगता भएकोहरुले स्वास्थ्य जाँच गराएका थिए ।

सो अवसरमा गाउँपालिकाको वडा नं. १ र २ मा १ सय १२ जना, वडा ३, ४, ५, ६ र ७ मा ७९ र ८ र ९ मा ५९ जना गरी २ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको नेपालीले जानकारी दिए ।

स्वास्थ्य जाँचको क्रममा १४ जनाको अप्रेशन गर्नुपर्ने देखिएको कार्यक्रम सुपरभाइजर रुद्र सापकोटाले जानकारी दिए ।

शिविरमा जन्मजात खुट्टाको पैताला फर्केको, आगोले पोलेर अंगहरु एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डि नजोडिएको, खुट्टा लुलो र कमजोर भएको, ढाड बांगो भएको, जोर्नीहरु र घुँडाको पाँग्रो खुस्किएको, जोर्नीहरु दुख्ने र सुन्निने समस्या भएको, हड्डि पाकेर पिप आइरहने र हड्डिको टिवि रोग लागेको, औंलाहरु एकापसमा टाँसिएको वा बढि भएको, शरीरका विभिन्न जोर्नीहरु बाङ्गो वा खुस्किएको, अन्य हाडजोर्नी सम्बन्धि समस्या, सहायक सामाग्री तथा कृत्रिम अङ्गको आबश्यकता भएको व्यक्तिहरुको चेकजाँच गरिएको थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला