काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ । गाउँपालिकाको पुष २९ गते सम्पन्न ११ औं गाउँ अधिवेशनले सो ऐन पारित गरिएको हो ।

खानीखोला गाउँपालिका स्थानीय भाषा ऐन ल्याउने नेपालकै पहिलो गाउँपालिका बन्न सफल भएको छ । खानीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुबहादुर अधिकारीका अनुसार गाउँसभाले खानीखोला भाषा ऐन–२०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन–२०७९ र खानीखोला भाषिक तथा साँस्कृतिक सङग्रहालय ऐन–२०७९ पारित गर्दै सम्पन्न भएको छ।

यसअघि नगरपालिकातर्फ स्थानीय भाषा ऐन, प्रज्ञा प्रतिष्ठान ऐन र भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन पारित गरी नेपालमै पहिलो नगरपालिका बन्न सफल भएको थियो । जसमा नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा नेपालमै पहिलो पल्ट भाषा ऐन ल्याउने मेयर हुन सफल भएको थियो ।

त्यसैगरी खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ गाउँपालिकातर्फ स्थानीय भाषा ऐन ल्याउने पहिलो अध्यक्ष हुन सफल भएका छन् ।

यस गाउँपालिकामा भाषा आयोग नेपालबाट मातृभाषामा शिक्षासम्बन्धी एकीकृत अध्ययन गरी राष्ट्रपतिमार्फत वार्षिक प्रतिवेदन बुझाई नेपाल सरकारसमक्ष मातृभाषामा शिक्षा लागू गर्न सिफारिस गरेको छ ।

गाउँपालिकाले पनि तामाङ मातृभाषा विषय पठनपाठन गर्न र स्थानीय पाठ्यक्रम तयार गरी स्थानीय विषय पठनपाठन गर्नको लागि आ.व. २०७९।८० मा कार्यक्रम र बजेटको व्यवस्था गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।