काभ्रे जिल्लामा जिल्ला समन्वय समिति, काभ्रे र जिल्ला खेलकुद विकास समिति काभ्रेको आयोजनामा जिल्ला स्तरीय बृहत खुलकुद महोत्सव हुने भएको छ । महोत्सव यही माघ २० गतेदेखि सञ्चालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाईबाले जानकारी दिएका छन् ।
महोत्सवको तयारीको लागि खेलकुद महोत्सव सञ्चालनका बारेमा आज जिल्ला स्थित विभिन्न खेलकुद संघसँग छलफल भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा छलफल भएको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वाईबाका अनुसार महोत्सवमा कम्तिमा १२ वटा विधा खेल सहभागी गराइनेछ ।
महोत्सवमा सहभागी खेलाडीलाई खाना र बस्ने ब्यवस्था आयोजकले नै गर्ने बताइएको छ । टिम दर्ता बापत सबै विधाका खेलको लागि २ हजारका दरले शुल्क लिइने छ भने सबै विधाका खेलबाट पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुने टिमले १० नगद पुरस्कार पाउनेछन् ।
जिसस प्रमुख दिपक कुमार गौतमले खेल महोत्सवको तयारीमा जुट्न सबै खेलकुद संघका पदाधिकारीलाई आग्रह गरे । ‘खेलाडी मात्रै होईन, खेलसंग सम्बन्धित सबै पक्षलाई एकै ठाउँमा सहभागी गराउने गरी तपाईहरु तयारीमा जुट्नुहोस् । यो महोत्सव हो ।’ प्रमुख गौतमले भने, ‘तयारी फितलो नहोस् । हामी यो महोत्सव मार्फत थुप्रै खेलाडी र प्रशिक्षक उत्पादन गर्न चाहान्छौँ ।’
महोत्सवको उघाटन पनौतीमा रहेको क्षेत्रीय रंगशालामा गरिनेछ । खेलहरु धुलिखेल, बनेपा र पनौती नगरपालिकामा खेलाईनेछ । महोत्सवमा राष्ट्रिय स्तरका खेल सहभागी गराइनेछ । २ हजार देखि २५ सय खेलाडी महोत्सवमा सहभागी हुने गौतमले बताए । ‘राष्ट्रिय स्तरमा खेलाईने खेल महोत्सवमा खेलाईनेछ ।’ उनले भने, ‘धेरै खेलाडी उत्पादन गर्ने र खेल क्षेत्रलाई स्थानीय सरकारको ध्यानाकर्षण गराउन महोत्सव गरिएको हो ।’
महोत्सवका लागि आवश्यक खर्च जिल्लाभित्रैबाट ब्यवस्थापन गरिनेछ । महोत्सवमा कम्तिमा ५० लाख खर्च हुने अनुमान गरिएको छ । माघ ९ गतेसम्म टिम दर्ताको मिति तोकिएको छ । महोत्सवमा खेलको विधा थपिन सक्ने बताइएको छ । खेलकुद महोत्सव उदघाटनका लागि प्रधानमन्त्री ल्याउने तयारी गरिनेछ ।
Comments