काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा आजबाट महिलाहरुको पाठेघर तथा स्नत क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । शिविरको गाउँपालिका अध्यक्ष चन्द्र लामाले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

वडा नं. ५ मा रहेको सामुदायिक स्वास्थ्य ईकाई गिम्दीबाट शिविर शुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष लामाले महिला स्वास्थ्य प्रति गाउँपालिका गम्भिर रहेको बताउँदै महिलाहरुको स्वास्थ्य समस्या पत्ता लगाउन र समाधन गर्न शिविरको सञ्चालन गरेको बताए । जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर गाउँपालिकाले यस अघि पनि दुई वटा महत्वपूर्ण शिविर सम्पन्न गरेको बताउँदै जनताको स्वास्थ्य अवस्था बुझ्न शिविरबाट सहज भएको बताए ।

सम्बोधनकै क्रममा अध्यक्ष लामाले आगामी दिनहरुमा गाउँपालिको स्वास्थ्य सम्बन्धी नीति बस्तुवादी ढंगले निर्माण गर्न सजिलो हुने बताए । साथै उनले गाउँपालिकाबासी महिलाहरुलाई शिविरबाट सक्दो लाभ लिन समेत अपिल गरे ।

शिविरमा ५४ जना महिलाहरुले सेवा लिन सफल भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिए । उनका अनुसार ६ जनाको पाठेघर सम्बन्धी समस्या भएको पाइएको छ । समस्यामा रहेका महिलाहरुलाई आवश्यक स्वास्थ्य परामर्श दिनुका साथै उपचारको लागि पहल गर्ने पाठकले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, वडा अध्यक्ष हजारसिं लामा लगायतका अतिथिहरुले आ–आफ्नो धारणा राखेका थिए ।

प्रत्येक वडामा सञ्चालन हुने शिविर आगामी माघ २० गतेसम्म सञ्चालन हुने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।