काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९ मा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (विप्लब) परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज)ले स्वागत गरेका थिए । प्रवेश हुनेहरुमा नेकपा (एमाले) तेमाल गाउँपालिका कमिटी सचिवालय सदस्य हस्तबहादुर तामाङ, नेकपा (विप्लब) का जिल्ला सदस्य कामीसिं तामाङ (कमास), नेपाली काँग्रेस तेमाल गाउँपालिका इकाई समितिका सदस्य नवराज दोङ (नमो) लगायतका रहेका छन् । प्रवेश भएका अन्य व्यक्तिहरुमा एमालेबाट विशाल माझी, शम्भू सिं माझी, रामसिं ठकुरी, विवेक माझी, रुपेन माझी, धनबहादुर हमाल, सार्कीमान दोङ, काँग्रेस टोल इकाई समिति उपसभापति इन्द्रलाल तामाङ, स्वतन्त्र व्यक्तित्व असली लामा लगायतका रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य लालध्वजले प्रवेश भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै नवप्रवेशीहरुलाई कुनै पनि प्रकारको विभेद नगरि पार्टीमा उचित जिम्मेवारी दिने बताए । हिजो माओवादी केन्द्रबाटै अलग भएका साथीहरु फेरि माओवादी केन्द्रमै फर्केकोमा खुशी व्यक्त गर्दै लालध्वजले माओवादी केन्द्रमै फर्किन आव्हान गरे ।

एमालेबाट प्रवेश भएका हस्तबहादुर तामाङ स्थानीय तह निर्वाचनमा एमालेमा प्रवेश भएका थिए । कार्यक्रममा आफ्नो पार्टी माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश भएकोमा आत्मालोचना गर्दै अब माओवादी केन्द्र मै संगठीत भएर बाँकी जीवन पार्टी र जनताको पक्षमा लागिरहने प्रतिबद्धता जाहेर गरे । ‘मैले पार्टी र पार्टीले उठाएको उम्मेवावरलाई एउटा अवस्थामा धोका दिएँ । मैले गल्ती गरें ।’ तामाङले भने, ‘गल्ती पार्टी पांक्तिको पनि थियो, तर पार्टीमै बसेर बहस, छलफल गर्नुपर्नेमा मैले पार्टी नै छोडेकोमा म आत्मालोचित हुन्छु ।’

त्यसैगरि प्रवेश कार्यक्रममा मन्तव्य राख्दै नेपाली काँग्रेसबाट प्रवेश भएका नवराज दोङले नेपाली काँग्रेसले समेत माओवादी केन्द्रको एजेण्डा बोकेको बताउँदै काँग्रेसलाई झिंगाको संज्ञा समेत दिए । काँग्रेसलाई आफूले मौरी सँझेको तर फोहोरमा पुर्‍याएको बताउँदै बास्तविक मौरी माओवादी रहेको बताए । ‘मैले मौरी संझेर काँग्रेसमा संगठीत भएको थिएँ । तर मौरीले फूलमा होइन, फोहोरको डंगुरमा पुर्‍यायो । काँग्रेस भनेको झिंगा रहेछ ।’ उनले भने, ‘वास्तविक मौरी भनेको माओवादी केन्द्र रहेछ । फूलमा पुग्ने हो भने माओवादी केन्द्रमा संगठीत हुन आवश्यक छ ।’

यसैबीच नेकपा (विप्लब) समूहका जिल्ला सदस्य समेत रहेका कामीसिं तामाङ (कमास)ले विभिन्न समूहमा विभाजित भएका कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनुपर्ने भएकोले आफू माओवादी केन्द्रमा फर्केको बताए । आफू पार्टी प्रवेश नभई पुनर्मिलन भएको बताए । आगामी दिनमा माओवादी केन्द्रलाई क्रान्तिकारी पार्टी बनाउन आफूले भूमिका खेल्ने प्रष्ट पारे ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु रत्न ढकाल, कमला दोङ, गंगाबहादुर तामाङ (बमध्वज), जिल्ला संयोजक भोला अर्याल, सचिव दैवलाल घिसिङ, पालिका इन्चार्ज डिएम लामा, पालिका अध्यक्ष समिर लामा, उपाध्यक्ष कल्पना लामा, ग्याम्जो थोकर, पालिका कार्यालय सदस्यहरु चन्द्रबहादुर लामा (काजी), प्रेम लामा, पालिका सचिवालय सदस्य हजार सिं लामा, पुरानो कम्युनिष्ट नेता चलाखसिं दोङ, लालबहादुर तामाङ, चन्द्रबहादुर दोङ (ठूलोबाबु) लगायतका अतिथिहरुको सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।