काभ्रे जिल्लामा पुस २२ गतेदेखि बन्द रहेका क्रसर उद्योग, ढुंगा र बालुवा खानी सञ्चालन हुने भएको छ । आज जिल्ला समन्वय समितिका प्रमुख एवं नदीजन्य पदार्थको उत्खनन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित समितिका संयोजक दिपक कुमार गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच प्रकारका मापदण्ड पुरा नगरेका बाहेक अन्य सबै उद्योग र खानी सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले दर्ता नभई संचालन भएका, एउटा उद्देश्य लिई स्थापना भई उद्देश्य भन्दा फरक उत्पादन र उत्खन्न कार्य गरि रहेका, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको लागि निर्माण सामाग्री आपूर्ति गर्ने उद्देश्यले स्थापना भई संचालन भएका तर आयोजना समाप्त भएका तथा सम्बन्धीत आयोजना भन्दा बाहेक अन्यत्र उत्पादन बिक्री गरिरहेका, स्वीकृत प्राप्त स्थान भन्दा बाहिर स्थापना भएका तथा सार्वजनिक पर्ति जग्गामा समेत उत्खनन् गरिरहेका र कम्पनी दर्ता भए पनि सम्बन्धित निकायबाट कार्य अनुमति नलिएका क्रसर र ढुंगा तथा बालुवा खानी तत्काल बन्द गर्न जिल्लाका सबै स्थानीय पालिकालाई अनुरोध गरेको छ ।

बैठकले मन्त्रीपरिषद्ले माघ ११ गतेको निर्णयको मर्म अनुसार पुर्याउनु पर्ने मापदण्ड पूरा गरेका खानी तथा क्रसर उद्योगहरुलाई संचालनमा सहजिकरण गर्न स्थानीय पालिका तथा सम्बन्धीत निकायहरुमा लेखि पठाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल समेतको उपस्थितिमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।