बागमती प्रदेशको प्रदेश सभाका सदस्यले नागरिकका समस्याप्रति प्रदेश सरकारलाई उत्तरदायी बन्न आग्रह गरेका छन् ।

प्रदेश सभाको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठक समयमा सुरु नभएको र प्रदेश सभा कामविहीन भएकाले बिजनेस दिन माग गरेका हुन् ।

प्रदेश सभा सदस्य अमनकुमार मास्केले बैठकमा अझै पनि केन्द्रीकृत मानसिकता रहेकाले सङ्घीयताको औचित्य साबित गर्न प्रदेशलाई अझै क्रियाशील बनाउनु आवश्यक भएको बताए ।  प्रदेश सभा सदस्य आशा लामाले हरिया डाँडाकाँडालाई उजाड बनाइएको र युवा पलायन भएको अवस्था रहेको भन्दै सङ्घीयतालाई देशले धान्न नसक्ने भएकाले व्यवस्थित गर्नु आवश्यक भएको बताए ।

यस्तै ईश्वर सापकोटा कृषिप्रधान देशका किसानले सडकमा तरकारी फाल्नुपर्ने अवस्था रहेकाले किसानले गरेको उत्पादनको बजार व्यवस्थापन गर्न माग गरे । प्रदेश सभा सदस्य उत्तम जोशीले किसानले चितवनको सडकमा तरकारी फालेको प्रसङ्ग उल्लेख गर्दै विदेशबाट आएको तरकारी बजारमा बिक्री हुने र नेपाली किसानले उत्पादन गरेको तरकारी फाल्नुपर्ने अवस्थाप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेश सभा सदस्य उर्मिला कुमारीले ललितपुर जिल्लाको दक्षिणी क्षेत्रका जनताको अवस्था कष्टकर रहेको बताउँदै जनताको आधारभूत आवश्यकता पूरा गर्न माग गरे ।

यसैगरी उर्मिला सुनुवारले नेपालबाट सक्षम युवा र प्रतिभा पलायन भइरहेकाले रोक्नुपर्नेमा जोड दिए । प्रदेश सभा सदस्य कुन्दनराज काफ्लेले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चित गर्न र प्रदेश सभा बैठक निर्धारित समयमा नै सुरु गर्न माग गरे ।

प्रदेश सभा सदस्य कुमारी तामाङले सिन्धुपाल्चोकका विभिन्न पालिका बसोबासका दृष्टिले जोखिम रहेकाले सुरक्षित बसोबासको व्यवस्था गर्न माग गरे ।  प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले दुई वर्षअघि मेलम्ची र इन्द्रावती नदीले ठूलो क्षति भए पनि पुनस्र्थापना, पुनर्निर्माण नभएको उल्लेख गर्दै त्यसप्रति ध्यान दिन आग्रह गरे ।

प्रदेश सभा सदस्य गीता गुरुङले भरतपुर महानगरपालिकाका विभिन्न वडामा नारायणी नदी कटानले क्षति पु¥याएको बताउँदै तटबन्ध निर्माण गर्न माग गरे । प्रदेश सभा सदस्य गोविन्द लम्सालले किसानको मल र बीउको समस्या समाधान गर्न प्रदेश सरकारलाई आग्रह गरे । -गाेरखापत्र अनलाइनबाट

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।