नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ का सांसद सूर्यमान दोङ (लालध्व)ले प्रतिगामीहरुलाई तर्साइरहने चेतावनी दिएका छन् । माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग, नेपाल र अनेरास्ववियू (क्रान्तिकारी)को आयोजनामा बनेपामा सम्पन्न एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता लालध्वजले यस्तो चेतावनी दिएका हुन् ।

जनयुद्ध दिवसमा नेपाल सरकारले राष्ट्रिय रुपमा सार्वजनिक विदा दिने निर्णय गर्न बसेको मन्त्रीपरिषद बैठकमा राप्रपाका मन्त्रीहरु सहभागी नभएको कुरालाई र्इंगित गर्दै उनले राप्रपालाई प्रतिगामी, शान्ति नचाहने र समृद्धि नचाहनेहरुको संज्ञा दिए । नेता लालध्वजले राष्ट्रिय सहमति अपरिहार्य रहेको बताउँदै प्रतिगामीलाई तर्साइरहने समेत चेतवानी दिए ।

‘हाम्रो पार्टीको अध्यक्ष क. प्रचण्डको नेतृत्वमा सरकार छ । सबैभन्दा बढी जनमत प्राप्त गरेको सरकार हो यो । शान्ति प्रक्रियालाई सार्थक रुपमा टुंग्याउन, संविधान जोगाउन र राष्ट्रिय सहमतिको आवश्यक छ ।’ लालध्वजले भने, ‘तर प्रतिगामीहरु, मुलुकमा शान्ति, समृद्धि नचाहनेहरु राष्ट्रिय सहमतिको विरोध गरिरहेका छन् । कुनामा बसेर रोइरहेका छन् । मन्त्री परिषदको बैठकमा जाँदैनन् । हाम्रो काम उनीहरुलाई तर्साउने हो । यो कुरा मजदुर विद्यार्थी र युवाहरु बुझ्न जरुरी छ ।’

पूर्व राज्यमन्त्री समेत रहेका लालध्वजले महान सहिदहरु, बेपत्ता योद्धाहरु र घाइते योद्धाहरुकाको सम्मान गरे मात्र जनयुद्ध दिवसको सार्थकता पाउने दावी गरेका छन् । देशमा राजनीतिक परिवर्तन भएको, संघीयता, गणतन्त्र, धर्मनिर्पेक्षता, समानुपातिक समावेशी जस्ता उपलब्धिहरु प्राप्त गरेर औपचारिक रुपमा विजय प्राप्त भएको दावी गर्दै उनले आम युवाहरुको शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक रुपान्तरण गर्ने कार्यभार जनयुद्धले आफूहरुको काँधमा छोडेको बताए ।

‘दुश्मण्नहरु, विरोधीहरु कराई रहेका छन्, चिच्याइरहेका छन् । तिनीहरुको काम नै यहि हो । हाम्रो काम व्यवस्था स्थापित गर्ने काम हाम्रो हो भन्ने भुल्नु हुँदैन ।’ लालध्वजले भने ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्यहरु, जिल्ला स्तरीय नेताहरु, युवा, विद्यार्थीका नेताहरु लगायतका सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।