काभ्रेको विकट खानीखोला गाउँपालिकामा जनयुद्ध दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण फुटवल प्रतियोगितामा जनप्रतिनिधिको टिम विजयी भएका छन् । सोमबार गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबिचको मैत्रीपुर्ण फुटबल खेलमा जनप्रतिनिधिको टिम विजयी भएका हुन् ।
प्रतियोगितामा जनप्रतिनिधितर्फ खानीखोला–५ का वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तानले नेतृत्व गरेको टिम र कर्मचारीतर्फ लेखा अधिकृत बमबहादुर शेर्पालीले टिमको नेतृत्व गरेका थिए । गाउँपालिकाको केन्द्र ताल्ढुंगास्थित् खेल मैदानमा भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिमले २–० गोल अन्तरले कर्मचारी टिमलाई पराजित गर्दै विजयी हात पारेको हो ।
विजय टिमले १७ हजार बराबरको पुरस्कार स्वरुप खसी जितेका छन् । कर्मचारी टिमले खेलमा गोलको अवसर सिर्जना गरेपनि फिनिसिङमा चुक्दा हार व्यर्होनु परेको हो ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले यसअघि दिपप्रज्वलन गरेर मनाएझै यसपटक आफुहरुले मैत्रीपुर्ण फुटबल प्रतियोगिता गरी जनयुद्ध दिवस मनाइएको बताए । उनले जनयुद्ध र जनआन्दोलनको कारण नै आजको परिवर्तन सम्भव भएकोले यसको विरोध गर्नुको औचित्य नभएको बताए ।