काभ्रे जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाँउबाट योगदान गर्न सबैपक्षलाई आव्हान गरेका छन् । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा प्रमुख गौतमद्वारा जारी शुभकामना सन्देशमा यस्तो आव्हान गरेका हुन् ।

‘लोकतन्त्रको उपयोग गर्न सुशासन कायम हुनपर्दछ भन्ने मान्यता राखिन्छ । जहाँ लोकतन्त्र बलियो हुन्छ, त्यहाँ सुशासन बलियो हुन्छ ।’ शुभकामना सन्देशमा गौतमले भनेका छन्, ‘संविधानलाई सफल कार्यान्वय गर्न, राष्ट्रिय एकतालाई मजबुद बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाँउबाट योगदान गर्न सबै राजनितीक दल, जनप्रतिनिधी, राष्ट्रसेवक कर्मचारीहरु, सबै सुरक्षा निकायहरु र आम नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक आव्हान समेत गर्दछु ।’

शुभकामना सन्देशमा उनले राष्ट्रिय प्रजातन्त्र दिवस–२०७९ को यस घडीमा प्रजातन्त्रको स्थापनका लागि भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं सहिदहरु तथा वेपत्ता र पिडित नागरिकहरुलाई सम्मान गर्दै आम नेपाली दाजुभाई तथा दिदिबहिनीलाई शुभकामना समेत व्यक्त गरेका छन् ।

‘प्रजातन्त्रको स्थापना पश्चात आज हामी नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा छौं । नेपाली जनताको चाहाना मुलुकको आर्थिक–सामाजिक रुपान्तरण नै हो । नेपालको संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।’ गौतमले भनेका छन्, ‘यसलाई प्रजान्त्रको ठुलो उपलब्धिका रुपमा लिईन्छ । समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न यस राष्ट्रिय प्रजान्त्र दिवसले भुमिका खेल्ने छ भन्ने विश्वास लिएको छु ।’

गौतमले ७३ औ राष्ट्रिय प्रजातन्त्र दिवसले राजनितिक स्थिरता, लोकतन्त्रको सुदृढिकरण, संविधानको कार्यान्वयन र जनताको जिवनपद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भुमिका खेल्न सकोस भन्ने अपेक्षा समेत राखिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।