बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले संघीयता रगतसँग साटेर ल्याएको व्यवस्था भएकाले कसैले चाहेको भरमा परिवर्तन हुन नसक्ने बताएकी छन्।

काभ्रेको विकट महाभारत गाउँपालिका–२ स्थित् राष्ट्रिपति रनिङ तथा चौथो अध्यक्ष कप प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री मोक्तान यस्तो बताएकी हुन्।

‘संघीयता रगतसँग साटेर ल्याएको व्यवस्था हो, यसलाई कसैले चाहेको भर परिवर्तन गर्न सकिदैन,’ उनले भनिन्, ‘संघीयताको परिकल्पना हिजोको गाविसको जस्तो होइन। जनयुद्धको जगमा आएको संघीयताले ग्रामीण क्षेत्रको विकासमा एक खालको क्रान्ति नै ल्याएको छ।’

मन्त्री मोक्तानले स्थानीय तहलाई व्यवस्थित र प्रदेश सरकारलाई जनताले प्रत्यक्ष रुपमा अनुभूति हुने  गरी काम गर्ने बताइन्। विकट डाँडापारि क्षेत्रको विकासको लागि प्रदेश सरकार सदैव सकारात्मक रहेको उनको भनाइ छ।

विकटता र आवश्यकता हेरेर कार्यक्रम छनोट

उनले पहुँचको आधारमा नभई विकटता र आवश्यकता हेरेर आफूले बजेटको लागि कार्यक्रम छनोट गर्ने गरेको बताइन्। ‘मैले पहुँचको आधारमा कार्यक्रम राखेको छैन, विकटता र आवश्यकताको आधारमा कार्यक्रम छनोट गर्ने गरेको छु,’ उनले भनिन्, ‘हाम्रो योजना विकटलाई निकट र दुर्गमलाई सुगम बनाउने हो।’

झुरझुरे–ताल्ढुंगा–देवीटार–रामेछाप–दोलखा सडकलाई प्रदेश गौरवको आयोजनामा समेट्ने

मन्त्री मोक्तानले मकवानपुरको बागमती गाउँपालिकाको केन्द्र झुरझुरे, काभ्रेको खानीखोला गापाको केन्द्र ताल्ढुंगा, महाभारत गापाको केन्द्र देवीटार, नेपालथोक, चौरीदेउराली हुँदै रामेछाप र दोलखा जोड्ने झुरझुरे–ताल्ढुंगा–देवीटार–नेपालथोक (विपी लोकमार्ग)–मध्य पहाडी लोकमार्ग हुँदै रामेछाप–दोलखा सडकलाई प्रदेशको गौरवको आयोजनाको रुपमा अघि बढाउने बताईन्।

उनले उक्त सडकले पहाडी क्षेत्रका ४ जिल्लासँगै तराईका सर्लाही, रौतहट लगायतलाई समेत जाड्ने हुँदा आगामी आ.व. २०८०/८१ को बजेटमा प्रदेश गौरवको आयोजनाको रुपमा समेट्ने बताउँदै त्यसको लागि आफूले सक्ने र गर्नुपर्ने काममा कुनै कसुर बाँकी नराखी लाग्ने प्रतिबद्धता गरिन्।

उनले उक्त सकडको देवीटार–घर्तिछाप–गोकुले–ताल्ढुंगा–भोर्लेनी–झुरझुरे सडक खण्डको विकाससँगै निकास दिने कुरामा बागमती प्रदेश सरकार सकारात्मक रहेको बताईन्। त्यस्तै मन्त्री मोक्तानले शैक्षिक क्षेत्रको विकासको लागि आफुले निरन्तर सहयोग गर्दै आएको समेत दाबी गरे।

कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले यहाँको पूर्वाधार विकास तथा शैक्षिक क्षेत्रको अवस्थाको बारेमा जानकारी दिँदै पुर्वाधार, शिक्षा र खेल क्षेत्रमा आवश्यक बजेट छुट्याउनु अनुरोध गरेका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।