काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ स्थित कटुञ्जेमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । ‘स्वस्थ आँखा, स्वच्छ संसार’ भन्ने मूल नाराका साथ संचालन भएको १ दिने आँखाको निःशुल्क शिविर रोशी माविमा भएको थियो ।
रोशी गाउँपालिकाको आयोजना तथा रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा सो शिविर सञ्चालन भएको वडा अध्यक्ष अशोक गौतमले जानकारी दिए । वडा अध्यक्ष गौतमका अनुसार निःशुल्क आँखा शिविरमा ३६ जना मोतिबिन्दु रोगीको पहिचान भएको छ । ‘शिविरमा जम्मा २५० जनाले आँखा जाँच गरिएकोमा ३६ जना मोतिविन्दुको रोगीको पहिचान भएको छ ।’ गौतमले भने ।
मोतिबिन्दु पहिचान भएका ३६ जनाको आइतबार निःशुल्क आँखाको शल्यक्रियाको निम्ति रेयुकाई एईको मासुनागा अस्पताल बनेपामा हुने बताइएको छ । पिडितहरुको लागि खाना, वास र यातायातको सुविधा रहेको वडा अध्यक्ष गौतमले जानकारी दिए ।
शिविरमा गाउँपालिका अध्यक्ष दिनेश लामा, वडा अध्यक्ष गौतम , स्वास्थ्यकर्मीहरुको टोली लगायतको उपस्थित रहेको थियो ।
Comments