डिलबहादुर थाेकर
काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा रहेको तिमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्था लिमिटेडको प्रन्ध्रौं साधारणसभा सम्पन्न भएको छ । ‘हुँदैछ हामी अब बिद्युतमा आत्मनिर्भर, तेमालको आर्थिक रुपान्तरणको लागि बनौं उद्यमशिलता’ भन्ने मूल नाराका साथ आइतबार संस्थाको साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेका तेमाल गाउँपालिकाको अध्यक्ष चन्द्रबहादुर तामाङले तिमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्था लिमिटेडले तेमालमा विद्युतिकरणमा उल्लेख्य भूमिका खेलेको प्रति प्रसंशा गरे । टुकी बत्तिबाट उज्यालो तेमाल बनाउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउँदै अध्यक्ष तामाङले आगामी दिनमा सहकारीको उन्नति र प्रगतिको लागि गाउँपालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कमी नगर्ने प्रतिबद्धता जाहेर गरे ।

त्यसैगरि कार्यक्रमको विशिष्ट अतिथि गाउँपालिकाको उपाध्यक्ष दलमान थोकर (डिएम)ले तिमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्था लिमिटेड जिल्लाकै ठूलो सहकारीको रुपमा स्थापित भएको चर्चा गरे । गाउँपालिकाले सहकारी संस्थाहरुको उचित परिचालन र व्यवस्थापनको लागि योजनाहरु बनाएको बताए ।

कार्यक्रमममा पूर्व गाउँपालिका अध्यक्ष तथा संस्थाको पूर्व अध्यक्ष सलामसिं तामाङले संस्था स्थापनाकालदेखि तेमालको जनताले खेलेको भूमिकाको चर्चा गरे । तामाङले आफूले संस्था स्थापनाको लागि विभिन्न चरणमा गरेको कार्यहरुको अनुभूति समेत सुनाएका थिए ।

यसैबीच कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष इन्द्र अधिकारी, वडा नं. ६ का वडा अध्यक्ष प्रेमबहादुर लामा लगायतले संस्थाको प्रगतिको कामना गरे ।

साधारणसभामा अध्यक्ष सार्कीमान तामाङले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कुलबहादुर मोक्तानले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

चैत्रभित्र सबै काठको पोल हट्ने

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको अध्यक्ष तामाङले आगामी चैत्रभित्र तेमालका सबै काठको पोल हटाइसक्ने बताए । तामाङले तेमाल गाउँपालिका भरि कुल काठको पोल संख्या ५ हजार ७ सय ७६ वटा रहेकोमा ५३ सय ४० वटा फलामको पोल फेरिसकेको जानकारी दिए । अब ४ सय २६ वटा काठको पोलमात्र फेर्न बाँकी रहेको उनले बताए । पोल फेर्नका लागि निवर्तमान संघीय सांसद गंगाबहादुर तामाङ (बमध्वज) र प्रदेश सांसद रत्न ढकालले निर्वाचन क्षेत्र विकास कोषबाट १ करोड १९ लाख बजेटको व्यवस्था गरेको उनले बताए ।

ग्राहक संख्या र शेयर पूँजी

तेमाल गाउँपालिकामा संस्थाको कुल ग्राहक संख्या ६ हजार ८३ जना रहेको अध्यक्ष तामाङले जानकारी दिए । त्यसैगरि संस्थाको कूल शेयर पूँजी १ करोड ६८ लाख १६ हजार रहेको पनि बताए ।

नाङ्गो तार हटाउने अभियान शुरु

संस्थाले नाङ्गो तार हटाउने अभियान शुरु गरेको संस्थाको अध्यक्ष तामाङले बताए । कभर सहतिको तार २५ किलोमिटरको लागि टेन्डर भइसकेको उनले जानकारी दिए । हालको लागि सो कार्य विद्यालय र जंगल क्षेत्रमा कार्यान्वयन गर्ने उनले बताए ।

सम्मान र कदरपत्र प्रदान

कार्यक्रममा संस्थाको लागि महत्वपूर्ण भूमिका खेल्ने वडा नं. ६ को कार्यालय र पूर्व गाउँपालिका अध्यक्ष सलामसिं तामाङलाई सम्मान गरेको थियो । संस्थाका अध्यक्ष तामाङले सम्मान पत्रले उनीहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङलाई कदरपत्र प्रदान गरिएको थियो भने उपाध्यक्ष दलमान थोकरलाई मायाको चिनेले सम्मान गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।