काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा अन्तर माध्यमिक विद्यालयहरुको हाजिरीजवाफ, वादविवाद, हस्तलेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार नेपाल सिर्जनाशील सहयोगी संस्थाको आयोजना र तेमाल गाउँपालिकाको समन्वयमा सो प्रतियोगिता सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तेमालका सबै माध्यमिक विद्यालयहरुले भाग लिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको ज्ञानको सिमा बढाउने विश्वास गर्दै आयोजक संस्थाप्रति आभार प्रकट गरेका थिए । विजेता विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै तामाङले विद्यार्थीहरुको उमेर भनेको ज्ञान प्राप्त गर्ने उमेर भएकोले जति सक्दो ज्ञान आर्जन गर्न विद्यार्थीहरुलाई अनुरोध समेत गरे ।

संस्थाका संयोजक प्रकाश तामाङको सभापतित्वमा भएको कार्यक्रममा अन्य अतिथिहरुमा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल, शिक्षा शाखाबाट भिम लामा, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षक तथा विद्यार्थीहरुको सहभागी थियो ।

हाजिरीजवाफ प्रतियोगितामा कुशेश्वर मा वि प्रथम, जनज्योति मावि दिद्वीय र जनचेतना मावि तृतीय भएको थियो । त्यसैगरी वादविवाद प्रतियोगितामा प्रथम जनचेतना मावि, दोस्रो सर्वोद्वार मावि र तेस्रोस्थानमा भुमे मावि भएको थियोे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।