काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम लागू भएको छ । अपाङ्गता भएका कारण विद्यालय जान नसकेका, अभिभावकविहिन, गरिबी वा अन्य कुनै पनि कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने पालिकाले नीति लिएको हो ।
शिक्षा शाखा प्रमुख पुस्पा राईले विद्यालय भर्ना नभएका, अपाङ्गता भएका कारण विद्यालय जान नसकेका, अभिभावक विहिन भएकै कारण विद्यालय नगएका तथा गरिबी वा अन्य कुनै पनि कारण हालसम्म विद्यालय नपुगेका बालबालिकालाई विद्यालयसम्म ल्याउने योजना रहेको जानकारी दिए ।
कार्यक्रमले ४ वर्ष पुरा भइ १३ वर्ष ननाघेका बालबालिकाका समेटिने छ्न् । जटिल खालको अपाङ्गताका कारण विद्यालय जान नसकेका विद्यार्थीको हकमा घरमै गएर घुम्ति शिक्षक मार्फत शिक्षा दिइने शाखा प्रमुख राईले जानकारी दिए । यसका लागि प्रारम्भिक चरणमा सूचना प्रवाह गर्ने, शिक्षा समिति, वि.व्य.स. तथा सामुदायिक सिकाइ केन्द्रलाई प्रभावकारी ढंगले परिचालन गरिने, फारम तयारी गरिने, सुचक बनाएर टोलि खटाइने उल्लेख छ ।
यस्तै वडा स्तरमा जनप्रतिनिधि (वडा सदस्य) लाई पनि परिचालन गर्ने त्यसको अनुगमन वडा र अन्त्यमा शिक्षा शाखा र पालिकाले पनि बालबालिकाको खोजपड्ताल गर्ने, तथ्याङ्क सहि छ छैन भनी क्रस भेरिफाइसमेत गरी विद्यालय बाहिरका बालबालिकालाई शिक्षण सिकाइमा समावेश गराइ कार्यक्रम सफल बनाउने लक्ष्य पालिकाले लिएको छ ।
नयाँ शैक्षिक सत्र शुरू हुनै लागेको र नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रमबाट विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सुक्ष्म ढंगले पनि लगत संकलन गरिने भए पनि त्यो समयसम्म नकुर्ने आजै अहिल्यैबाट कार्यक्रम शुरू भएको उनको भनाई छ ।
घरदैलो कार्यक्रम पश्चात् मौद्रिक र अमौद्रिक सहयोग उपलब्ध गराउने र बालबालिकालाई विद्यालय आउने वातावरण बनाउने गाउँपालिकाले नीति लिएको छ । अपाङ्गता तथा गरिबीको रेखा मुनी रहेका बालबालिकाको संख्याको आधारमा बजेट विनियोजन गर्ने, पोशाक, झोला, जुत्ता, पुस्तक, कापीकलम आदि उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । यसका लागि निःशुल्क अनिवार्य शिक्षा दिइएकाको समेत लिस्ट बनाइने छ । कुनै पनि कारण आफ्ना बालबालिकालाई विद्यालय नपठाउने अभिभावकालाई पनि विद्यालय पठाउन सहयोग एवं प्रोत्साहन कार्यक्रम अघि सारिने यति गर्दा पनि अटेर भए गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधालाई रोक्का गरी बालबालिकालाई विद्यालय पठाए पछि मात्र सेवालाई निरन्तरता दिइने बाध्यकारी नीति बनाएरै भए पनि विद्यालय बाहिरका बालकालिकालाई विद्यालय ल्याउने अध्यक्ष अधिकारीले बताए ।
अपाङ्गता भएका, गरिबीका कारण, आमाबुबा नभएका कारण विद्यालयसम्म नपुगेका केही बालबालिका रहेको आफूले पनि जानकारी पाएको भन्दै अधिकारीले गाउँपालिकामा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम वडास्तरमा शुरू गरिने र निःशुल्क अनिवार्य शिक्षायुक्त वडा घोषणा गर्ने र अन्त्यमा निःशुल्क अनिवार्य शिक्षायुक्त गाउँपालिका घोषणा गरिने उनको लक्ष छ ।
शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा निःशुल्क अनिवार्य शिक्षा कार्यक्रमबारे गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य, शिक्षा समिति, वि.व्य.स. तथा सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीको उपस्थितिमा तयार परिएको कार्यविधिबारे छलफलसमेत भएको छ । निःशुल्क अनिवार्य शिक्षा कार्यक्रम केन्द्र सरकारको सामाजिक विकाश मन्त्रालय अन्तर्गतको कार्यक्रम हो । काभ्रेको बेथानचोक र खानीखोला गाउँपालिकामा यो कार्यक्रम लागू भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।