काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव कार्यक्रम बुधबार विविध कार्यक्रमका बीच सम्पन्न भएको । कार्यक्रम प्रतिनिधि सभा सदस्य सांसद मिना तामाङको प्रमुख आतिथ्य तथा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद तामाङले शिक्षालाई समयसापेक्ष परिवर्तन गर्दै लैजानु पर्ने आवश्यकता औल्याउँदै रिक्त दरवन्दीको परिपुर्ति, स्तरीय शैक्षिक वातावरणको निर्माण, दक्ष शिक्षक शिक्षिका भएमा राज्यले लिएको शैक्षिक लक्ष्य हासिल हुने बताए । उनले आफूले यसका लागि आवाज बुलन्द पार्दै शिक्षा क्षेत्रका माग पुरा गराउन लागि पर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष अधिकारीले आत्माविकासले विगत ६ दशकदेखि उक्त भेगमा पु¥याएको शैक्षिक योगदानको प्रशंसा गर्दै विद्यालयको भौतिक पूर्वाधार र स्तरीय शिक्षण सिकाइ, युग सापेक्ष शैक्षणिक वातावरण बनाउन विद्यालय परिवारलाई आग्रह गर्दै यसका लागि गाउँपालिकाले सहयोग गर्ने बताए ।
पौराणीक युगदेखि हालसम्म आउँदा पनि शिक्षा नीति परम्परावादी शैलीबाट चल्दै र चलाउँदै आएकोमा विद्यालय समुदायमा हस्तान्तरण, विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक अभिभावक संघको गठन, जिल्ला शिक्षा समिति, विद्यालय क्षेत्र सुधार कार्यक्रम, विद्यालय क्षेत्र विकास कार्यक्रम, शिक्षण अनुमतिपत्र तथा प्रधानाध्यापक नियुक्ति, विद्यालयको संरचनागत तह आदि विषयमा पनि नीतिगत स्पष्टता बनाउनु पर्ने भएकाले केन्द्र सरकारले यसमा ध्यान दिन आवश्यक रहेको औल्याए ।
दक्ष, तालिम प्राप्त, प्रशासनिक ज्ञान एवं नेतृत्वसीप भएका व्यक्तिहरूको नै शिक्षकका रूपमा आउने परिपाटी विकास भइसकेकोले शिक्षा विकासले अपेक्षित गति लिने बताउँदै उनले अब शिक्षकहरूले पनि आफूलाई युग र प्रविधिमा रूपान्तरण नगरे आलोचना खेप्न बाध्य हुने भएकाले शिक्षा प्रदान गरिने सर्वोत्कृष्ट अभियानमा दत्तचित्त हुन आग्रह गरे ।
गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले जीवनको आदर्श परिवर्तन गर्न, गुणस्तरीय जीवन यापन गर्न शिक्षा आवश्यक रहेकाले गाउँपालिकाले शिक्षाको विकासका लागि कुनै कुरामा पनि सम्झौता नगर्ने बताईन् ।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबाले अभिभावकको मागलाई ध्यानमा राख्दै स्तरीय शिक्षण सिकाइको वातावरण बनाउदै लैजाने, विद्यालयलाई शिक्षण सिकाइका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा साँस्कृतिक कार्यक्रम, विभिन्न समयमा विविध गतिविधिका बिजेता विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । विव्यस अध्यक्ष जगतबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ देखि ५ सम्मका वडा अध्यक्षहरू क्रमशः मधुसुधन तिमल्सिना, पुरूषोत्तम तिमल्सिना, कुवेर ढकाल, कृष्णबहादुर तामाङ, राजकुमार वाइबा, विभिन्न वडाका सदस्यहरू, विव्यसका पूर्व अध्यक्षहरू लिलाबहादुर लामा, मेनकुमार लामा, प्रहरी चौकी ढुंखर्कका इञ्चार्ज, अभिभावक, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।