माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर, नेपाल काभ्रेको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार धुलिखेल स्थित धुलिखेल सनराइज होटेलमा एक कार्यक्रमका बीच वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
वार्षिक साधारणसभाको उद्घाटन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, काभ्रे जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य सांसद सूर्यमान दोङ (लालध्वज)ले गरेका थिए ।
साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङले एमालेका सचेत नेताले रामचन्द्र पौडेललाई भोट नदिई सुवास नेम्वाङलाई भोट दिँदा खेर मात्रै बताउँदै हार्ने देखिएपछि केपी ओलीले सोझो जनजाति नेता नेम्वाङलाई उठाएर उनको राजनीति सकाउन लागेको आरोप लगाए ।
दोङले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असफल हुँदा जनयुद्ध र जनआन्दोलनको जगमा आएको व्यवस्था असफल हुने बताउँदै अहिले प्रचण्डलाई असफल बनाउने खतरा भइरहेको खुलासा गरे ।
यसैबीच कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रत्न ढकालले संगठनलाई सुदृढ गरी अघि बढ्न आवश्यक रहेको बताउँदै अग्रमोर्चामा लड्ने भूमिकामा प्रेस सेन्टर रहेकोले अब पार्टीको योजनामा केन्द्रित हुन निर्देशन दिए ।
कार्यक्रममा नेता दोङ, ढकालसँगै संविधानसभा सदस्य तेजबहादुर मिजार, प्रेस सेन्टर नेपालका उपाध्यक्ष लक्ष्मण खड्का, महासचिव सन्तोष पौडेल, माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक भोला अर्याल, सचिव दैवलाल घिसिङ, प्रेस सेन्टरका केन्द्रिय सचिव ग्याम्जो थोकर तामाङ, वागमती प्रदेश अध्यक्ष यदुनाथ गौतम, केन्द्रिय सदस्य पेमा लामा लगायतका सहभागी थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष, सचिव र कोषाअध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सर्वसम्मत ढंगले पास गरेको थियो ।
कार्यक्रम जिल्ला अध्यक्ष रोजन तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला सचिव शिव पन्तले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष नवराज अधिकारीले राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















