काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको टोली बालमैत्री स्थानीय शासन अध्ययन गर्न नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेको छ । बालमैत्री नगरपालिका घोषणाको तयारीमा जुटेको नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीको टोली सुनवल पुगेका हुन् ।
टोलीमा नगरप्रमुख कुन्साङ लामा, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, वडाअध्यक्ष रामकृष्ण उपाध्यायसहित जनप्रतिनिधी, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, नगर बालसञ्जालका पदाधिकारी, विषयगत शाखा प्रमुखसहित कर्मचारी समेतको टोलीले सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिएका थिए ।
नगर प्रमुख लामा नेतृत्वको टोलीलाई सुनवल नगर प्रमुख विमला अर्यालले स्वागत गरेका थिए । सुनवल नगर प्रमुख अर्यालले बालमैत्री नगर घोषणा गर्दा निकै चुनौती भोगेको अनुभव सुनाउँदै यसको दिगोपना पनि उत्तिकै चुनौतीपूर्ण रहेको बताए । सो अवसरमा नमोबुद्ध नगर प्रमुख लामाले पहिलो पटक बालमैत्री नगर घोषणा भएको सुनवललाई अभिभावक मानेर आफ्नो नगरलाई पनि छिट्टै बालमैत्री नगर पालिका घोषणा गर्ने प्रतिवद्धता जनाए ।
नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले नमोबुद्धको वडा नं ४, ५, ७ र १० बालमैत्री वडा घोषणा उन्मुख भएको जानकारी गराउँदै बाँकी वडामा समेत अभियान तिव्र पारिने बताए । बालमैत्री स्थानीय तह घोषणाको लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता, संस्थागत सहभागिता सम्बन्धी ५१ वटा सूचकहरु पुरा गरेको हुनुपर्छ ।
सुनवल नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी गैरे, नगर बाल सहजकर्ता सुम्निमा पन्थी सुनवलको बालमैत्री अभियानबारे जानकारी दिएका थिए । कार्यक्रममा सुनवलको नगर बाल सञ्जालका पूर्वअध्यक्ष कृष्ण घिमिरे, सचिव कला बस्याल लगायतले अभियानबारे आफ्नो अनुभव सुनाएका थिए । नमोबुद्ध नगरपालिकाको टोलीका सदस्यले सुनवलको अभियानका विभिन्न पक्षबारे जिज्ञासा राखेका थितए ।
सुनवलमा नै रहेको महाकवि देवकोटा माध्यमिक विद्यालयको अध्ययन, अबलोकन गर्दै टोलीले त्यहाँ भएका बालमैत्री अभ्यासका बारेमा जानकारी लिएको थियो । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले त्यहाँका असल अभ्यासको प्रशंसा गर्दै कार्ययोजना सहित आफ्नो नगरमा पनि कार्यान्वयन गराउने प्रतिवद्धता व्यक्त गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















