काभ्रे जिल्लाको रोशी गाउँपालिकाले अवकाशको अवधि पुगेका गाउँपालिका भित्रका शिक्षकहरुलाई स्वेच्छिक अवकाश लिन आव्हान गरेको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै यस्तो आव्हान गरिएको हो ।
गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम बमोजिम रोशी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा २० वर्ष वा सो भन्दा बढि समयदेखि शिक्षण पेसामा स्थायी रुपमा आवद्ध रहेर निवृत्तिभरण प्राप्त गर्न योग्य शिक्षकहरुलाई स्वेच्छिक अवकाशका लागि आव्हान गरिएको गाउँपालिकाले जनाएको छ ।
स्वेच्छिक अवकाश लिन योग्य शिक्षकहरु प्रति उच्च सम्मान गर्दै शिक्षण पेसा मार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै “शिक्षक स्वेच्छिक अवकाश कार्यक्रम” मार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै शिक्षण सेवामा नव प्रतिभालाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याएको सूचनामा उल्लेख छ । २०८१ वैशाख १ गते पछि अनिवार्य अवकाश हुने शिक्षकहरुले स्वैच्छिक रुपमा अवकाश लिन चाहेमा “शिक्षक स्वैच्छिक अवकाश कार्यक्रम कार्यन्वयन कार्यविधि २०७९” को अनुसूचि २ बमोजिमको प्रोत्साहन सहित स सम्मान विदाई गर्ने कार्यक्रम रहेको रोशी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङले बताए ।
स्वेच्छिक अवकाश लिन इच्छुक शिक्षकहरुले नागरिकताको प्रतिलिपि, नियुक्ति पत्रको प्रतिलिपि, बढुवा नियुक्ति पत्रको प्रतिलिपि, अनिवार्य अवकाशको मिति खुल्ने कागजात, विदाको अभिलेख खुल्ने कागजातको प्रतिलिपि, सम्पूर्ण शैक्षिक योग्यताको कागजातको प्रतिलिपि सहित १५ दिन भित्रमा गाउँपालिकामा पेश गर्न गाउँपालिकाले अनुरोध गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।