काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र बजेट ‘महिलामैत्री’ बनाउने प्रतिवद्धता जनाएका छन् । नगरपालिकाले आयोजना गरेको ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख लामाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा नगरप्रमुख लामाले आफूले महिला लक्षित कार्यक्रम र योजनालाई प्राथमिकता दिएको बताउँदै आगामी दिनमा पनि त्यसले प्राथमिकता पाउने प्रतिवद्धता जनाए । योजनासहित प्रस्ताव लिएर आउन अनुरोध गर्दै नगर प्रमुख लामाले प्राथमिकताका साथ नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताए ।
यसैबीच नगर उपप्रमुख रत्नबहादुर लामाले पुरुषहरु हिंसामा परेको उजुरी पनि न्यायिक समितिमा आएको जानकारी दिँदै लैंगिक हिंसाविरुद्धको अभियान चलाउन अनुरोध गरे । उनले पनि महिला लक्षित योजना र कार्यक्रममा बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।
नगर पूर्व उपप्रमुख रामदेवी तामाङले महिला लक्षित कार्यक्रमलाई बजेट बढाउन अनुरोध गरिन् । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले महिलामैत्री बजेट, नीति तथा कार्यक्रम तय गर्न जनप्रतिनिधीहरु सकरात्मक भएको भन्दै उनले प्रशासनिक रुपमा आफू प्रतिवद्ध रहेको बताए ।
कार्यक्रममा नगर प्रवक्ता समेत रहेका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, नगर कार्यपालिका सदस्य सुशिला परियार, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, महिला अधिकारकर्मी देवकी खनाल, शान्ता नराल पाठक, दाप्चा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारी, महिला सहकारी सञ्जालका संयोजन राधिका तिमल्सिना श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा विभिन्न सहकारी सस्था र विद्यालयका प्रतिनिधीहरुले गित, कवितामार्फत महिला हिंसा, अधिकारबारे चर्चा गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















