काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा ११३औं अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न भएको छ । बेथानचोक गाउँपालिकास्तरीय चेतनामूलक कविता प्रतियोगिता कार्यक्रमको आयोजना गरि सो दिवस सम्पन्न बनाएको थियो ।

बेथानचोक गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा र ग्रामिण विकास संस्थाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले चुल्हो चौकोको चौघेरोबाट आमा दिदीमा चेतना पुगोस् भनेरै २५ वर्ष भन्दा माथिको उमेर समूहमा यस प्रकारको प्रतियोगिता गराईएको बताए । ‘समाजमा नारीको अवस्था कस्तो छ भन्ने कुरा सिर्जनामार्फत बुलन्दी मात्र भएको छैन, यसका लागि स्वःस्फुर्त चेतना पनि सञ्चारित भएको छ ।’ उनले भने, बेथानचोकका महिलाको समृद्धि कृषि भएकोले हाल किसानले बाली र पशुधनमा जोखिम मोलिरहेकोले छिट्टै एक विशेष योजनामार्फत पशु तथा बाली बीमाका कार्यक्रम लागू गरी महिलामा आत्मनिर्भरता बढाउने, बेथानचोकमा पर्यटन महोत्सव आयोजना गरी महिला स्वावलम्बनका गतिविधिलाई प्रधानता दिइने छौं ।’

कार्यक्रममा प्रस्तुत चेतनामूलक नाटकको प्रशंसा गर्दै अध्यक्ष अधिकारीले भने, ‘नाटकले दिएको सन्देशलाई घर घरमा पुर्‍याऔं र भनौं, नारी जुनै–कुनै पनि कोणबाट सक्षम छिन ।”

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले १३३ वर्ष अघिदेखि शुरु भएको यो दिवसले विभेदकारी व्यवहारलाई पर राख्दै नारी पुरुष बराबर हुन भन्ने सन्देश प्रवाह गरोस् भन्दै समाजमा नारीले दोश्रो दर्जामा जिउन बाध्य पारिने गतिविधि समुल अन्त्य गर्न महिला सक्षम हुन जरुरी रहेको बताए ।सीप र स्वावलम्बन भए निर्णय क्षमतामा महिलाहरुको समान सहभागिता हुने भएकाले गाउँपालिकाले महिला स्वावलम्बनको पाटोलाई गम्भीरताका साथ अघि बढाइरहेको बताए ।

आयआर्जन र सीप विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्दै बेथानचोक गाउँपालिकाले महिलाहरुको लागि बहुपक्षीय गतिविधि गर्दै आएको र भावी दिनहरुमा पनि यसलाई बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । पछिल्ला दशकमा समानताका मुद्दा घनिभूत रुपमा उठेका केही मुद्दामा सम्बोधन पनि भइसकेका र केही सम्बोधनको क्रममा रहेकाले नेतृत्वकर्ताले विश्राम नलिई यसलाई उचाइमा पुर्‍याउनु पर्नैमा जोड दिए ।

गाउँपालिकाका प्रमुख प्रकासकीय अधिकृत राजेन्द्र भण्डारीले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अन्तर्राष्ट्रिय महिला दिवस पनि भनिने यो दिवसमा यो वर्ष महिलाको प्रविधिमा पहुँच सुनिश्चित गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका निम्ति सहयोग गर्न लिइएको नीतिप्रति बेथानचोक गाउँपालिकाले जिम्मेवार भएर कार्यसम्पादन गर्ने बताए ।

प्रतियोगितामा जिना तामाङ प्रथम, देवकी दाहाल तिमल्सिना द्वितीय र सिता तिमल्सिना तृतीय भएका थिए । विजेताहरुले नगद क्रमशः ४ हजार, ३ हजार र २५ सय रुपियाँ प्राप्त गरेको थियो । विजेताहरुलाई गाउँपालिका अध्यक्ष भगवान अधिकारी र उपाध्यक्ष तारा रानाले नगद र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नं. १ का अध्यक्ष मधुसुधन तिमल्सिना, २ का अध्यक्ष पुरुषोत्तम तिमिल्सिना, ३ का अध्यक्ष कुबेर ढकाल ४ का अध्यक्ष कृष्ण तामाङ, विभिन्न वडाका सदस्यहरु, ग्रामिण विकास संस्थाका प्रतिनिधि, महांकाल महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि, नारी चेतना महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका प्रतिनिधि, बेथानचोक नारी चेतना संस्थाका प्रतिनिधि,भुग्देउ महिला विकास संस्थाका प्रतिनिधि, ग्रामिण महिला तरकारी तथा फलफुल सहकारी संस्थाका प्रतिनिधि, बेथानकोचक गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, बेथानचोक प्रहरी चौकी इञ्चार्ज तथा स्थानीयको उपस्थिति रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।