काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले रणनैतिक कृषि योजनाको तयारी थालेको छ । ‘कृषि, व्यापार र पर्यटनः हाम्रो शसक्त अभियान’ भन्ने नारा बोकेको नगरपालिकाले दीर्घकालीन योजनासहितका कृषि रणनीति तय गर्न लागेको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिए ।

नगरको वर्तमान कृषिको वस्तुस्थिति विश्लेषण सहित आगामी बर्षका लागि आवधिक योजना, रणनीति तर्जुमा गर्न लागिएको उनले बताए । सबै क्षेत्रमा योजनावद्ध विकास गर्न चाहेको बताउँदै नगर प्रमुख लामाले नगरपालिकाले आवधिक योजना, योजना बैंक पनि तयार गर्न लागेको जानकारी दिए ।

रणनैतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउने लगायतका योजना समावेश हुने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिए ।
योजना निर्माणको लागि कार्यतालिका सहित जिम्मेवारी समेत बा“डफाँड गरिएको नगरपालिकाको आर्थिक विकास समितिका संयोजक समेत रहेका वडा नं ३ का अध्यक्ष रमेश तिवारीले जानकारी दिए । कृषि योजना तर्जुमाको लागि फोकल पर्सन तोकिएका प्राविधिक सहायक नविन अधिकारीका अनुसार नगरपालिकाले छलफल, भेटघाट, अध्ययन, दस्तावेजका आधारमा छिट्टै तथ्यांक संकलन गर्नेछ ।

रणनैतिक योजना तयार गर्नकै लागि नगरपालिकाको कृषि शाखाले जनप्रतिनिधी, शाखा प्रमुखहरु, विभिन्न कृषि सहकारी र समूहका र सरोकारवाला समेतको सहभागितामा अभिमुखिकरण गरेको छ ।

कार्यक्रममा नगर प्रमुख कुन्साङ लामा, पूर्व कृषि सचिव राजेन्द्रप्रसाद भारी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, परामर्शदाता सुवासचन्द्र ढकाल, नमोबुद्ध नगरपालिकाका योजना अधिकृत विष्णुकमार अधिकारी लगायतले योजनासहितको विकासले प्रतिफल दिने बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।