बागमती सरकारले प्रदेशभित्र तामाङ र नेवारी (नेपाल भाषा) लाई सरकारी कामकाजको भाषा बनाउन ऐन निर्माण गर्ने भएको छ ।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको उपस्थितिमा शुक्रबार काठमाडौंमा बसेको तामाङ र नेवारी कार्यान्वयन तयारीसम्बन्धी समितिको बैठकले उक्त निर्णय गरेको हो ।
अब छिट्टै ऐन निर्माण गरेर कार्यान्वयनमा लगिने मुख्यमन्त्री जम्मकट्टेलले बताए। ‘बहुसंख्यक तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आम नागरिकलाई सरकारी कामकाजमा थप सहजता होस् भनेर भाषासम्बन्धी ऐन ल्याउन लागेका हौं’, उनले भने ।
एक महिनाभित्र ऐन निर्माण गरेर आउँदो नयाँ वर्ष (वैशाख) भित्र संसदमा पेश गरिने समितिका अध्यक्ष तथा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बताइन् । एक महिनाअघि सामाजिक विकासमन्त्री मोक्तानको अध्यक्षतामा उक्त गठन भएको थियो ।
समितिमा श्रम‚ रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठसँगै २ विज्ञ सदस्य डा गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन्। बागमती प्रदेशमा तामाङ र नेवार समुदायको बाहुल्यता रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















